नक्कली लाइसेन्स बनाउने दुई पक्राउ
पर्सा । सरकारी कागज तथा छाप किर्ते गरी नक्कली चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले एक भारतीयसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सोे अभियोगमा पक्राउ परेका भारत बिहार रक्सौलको जोखियाडी निवासी दीपक ठाकुर र वीरगन्ज महानगरपालिका– ११ श्रीपुर निवासी उमेश चौधरीलाई सार्वजनिक गरिएको हो ।
प्राप्त सूचनाको आधारमा बिहीबार बेलुका रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका दीपक र उमेशलाई रजतजयन्ती चोकमा रोकी जाँच गर्दा चालक अनुमति पत्र बनाउन प्रयोग हुने सामग्री बरामद भएकाले अनुसन्धानका लागि दुबैजनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिए।
छानबिनका क्रममा दीपक र उमेशबाट विभिन्न व्यक्तिको लाइसेन्स चार थान, होलो ग्राम स्टिकर ६ थान, विभिन्न व्यक्तिको फोटो ३८ थान, राजश्व तिरेको रसिद पाँच थान, तयार भएको नक्कली लाइसेन्स एक थान, विभिन्न व्यक्तिको नागरिकताको फोटोकोपि चार थान लगायतका सामग्री बरामद भएको उपरीक्षक गिरीले बताए ।
पक्राउ परेका दीपक सरकारी कागज तथा छाप किर्ते मुद्दामा २०६६÷६७मा पक्रउ परी एक वर्ष कैद भुक्तान गरेका व्यक्ति हुन् ।
पक्राउ परेका दुबैअभियुक्तका सम्बन्धमा अनुसन्धन भइरहेको र तीनलाई सरकारी कागज किर्ते सम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । उनीहरुले वीरगन्जस्थित नारायणी अञ्चल यातायात व्यवस्था कार्यालयमा लेखापढी व्यवसायीको काम गर्दै आएका थिए । रासस