विद्यासुन्दरको प्रस्तावलाई गृहमन्त्रीको साथ, ठमेल २४ सै घण्टा खुल्ने




काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले प्रमुख पर्यटकीय क्षेत्र ठमेल र पोखरालाई २४ सै घण्टा खुलाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताएका छन् ।

गन्तव्य नेपालको १३औँ वार्षिकोत्सवको आज काठमाडौंमा उद्घाटन गर्दै उनले भने, ‘मैले ठमेल र लेकसाइडलाई २४सै घण्टा खुलाउने निर्णय गरिसकेको हुनाले व्यवसायीलाई पहल कदमी लिएर अगाडि बढ्न आग्रह गर्छु, आवश्यक सुरक्षा गर्न सम्बन्धित प्रशासनले मिलाउने व्यवस्था भइसकेको छ ।’

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले व्यवसायिलाई सुरक्षा प्रधान गर्न सके ठमेल २४ सैं घण्टा खुलाउन सकिने बताउँदै आएका छन् ।

कार्यक्रममा नेकपा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापाले पर्यटन क्षेत्रमा राजनीति हावी भएको टिप्पणीका सन्दर्भमा पर्यटन क्षेत्रको विकासका लागि राजनीतिमुक्त होइन राजनीतिकरणमुक्त बनाइनुपर्छ भने ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले पर्यटन क्षेत्रमा मौलाएको राजनीतिको अन्त्य गरी पर्यटकीय पूर्वाधार निर्माणतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

पर्यटन व्यवसायी दीपक महत, रामशरण थपलिया, कमल सापकोटा, नवराज दाहाललगायतले पर्यटन क्षेत्रलाई व्यावसायिक र मर्यादित ढंगले अघि बढाउन व्यवसायी एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा पर्यटन व्यवसायी कमल सापकोटालाई ‘टुरिज्म म्यान अफ दि इयर–२०१७’ अवार्डबाट सम्मान गरिएको छ । रासस


पुष्प दुलाल