जाजरकोटमा खाद्य संस्थानका कर्मचारी भागे, चामलको अभाव



जाजरकोट । बारेकोट गाउँपालिका–३ का रामबहादुर पुन ४ दिनकी सुत्केरी श्रीमतीलाई छोडेर चामल लिन घाटस्थित डिपोमा पुगे ।

बिहानै ६ बजे उठेर डिपोमा चामल लिन आएका पुन दिउँसो २ बजे मात्र खाद्य संस्थानको घाटस्थित डिपोमा उकालीओराली गर्दै पुगे पनि चामल एक गेडो नहुँदा निराश हुनुपर्यो ।

सरकारले अनुदानको चामल संस्थानमार्फत दिनका लागि कार्यालय नै स्थापना भएको छ भन्ने थाहा पाएका पुन कार्यालयमा कर्मचारी भेटिए पनि चामल नभेटिएपछि अमिलो मन पार्दै स्थानीय पसलमा चामलको खोजी गर्नतर्फ लागे ।

पसलमा सुत्केरीले खाने खालको चामल नपाएपछि उनी ३ घण्टा हिँडेर सक्लाको सेपुखाला पुगेर महँगो मुल्य तिरेर २ दिनपछि घरमा २५ किलो चामल लिएर आएको उनको भनाइ छ ।

त्यस्तै, सोही गाउँपालिका–९ का रामवहादुर विक चामल लिन डिपोमा आए पनि कहिल्यै पनि कर्मचारी र चामल नै नभेटेको बताउँछन् ।

जिल्लाको पश्चिम क्षेत्रमा पनि खाद्य डिपोमा चामल नहुँदा दैनिक स्थानीयवासी चामलका लागि आएपनि रित्तै घर फर्कने गरेको बताउँछन् । यहाँका दुर्गम गाउँमा चाडपर्व मनाउनका लागि चामलको अत्यधिक खोजी हुने गर्दछ । तर पनि खाद्य डिपोमा चामल नहुँदा रित्तो हात फर्कनु पर्दा निकै पीडा हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

भदौमा मात्र नयाँ चामल खरिदका लागि ठेक्का हुने तर नयाँ चामल डिपोमा नभएको नेपाल खाद्य संस्थान कार्यालय जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेतले बताए । पुरानो चामलको कोटा पूरा भएको छ, नयाँ छैन, उनले भने । केही जिल्ला सदरमुकाममा मौज्दात रहेको चामलसमेत वर्षायाममा बाटो भत्किएका कारण पु¥याउन नसकिएको बस्नेतको भनाइ छ ।

बारेकोट चामल लिनका लागि नलसिङ गाड जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण कार्य जारी रहेका कारण समस्या भएको कार्यालयको भनाइ छ ।

बारेकोटमा जति चामल ल्याए पनि पुग्दैन, हामी हैरान छौँ, प्रमुख बस्नेतले भने । जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा चामल उत्पादन कम हुनु र यो समयमा पुरानो अन्न सकिएको र नयाँ अन्न उत्पादन नभएका कारण थप खाद्यान्न अभाव भएको स्थानीय बासिन्दाको भनाइ छ ।

जिल्लाका सबै डिपोमा प्रतिडिपो एक हजार २ सय क्विन्टल खाद्यान्न कोटा निर्धारण गरिएको छ । यो मात्राको चामल यहाँको जनसंख्याको अगाडि हात्तीको मुखमा जिराजस्तै भएको वीरेन्द्र–ऐश्वर्य उच्च माविका प्राचार्य गोरखबहादुर सिंहले बताए ।

खाद्यान्न डिपो र स्थानीय बजारको चामलको मूल्य धेरै फरक भएका कारण यहाँका सर्वसाधारण खाद्य डिपोमा आउने गर्दछन् । चाडपर्व मनाउनका लागि चामल नपाउने यहाँका सर्वसाधारण आफूले उत्पादन गरेको अन्नले तीन महिना पनि खान नपुग्ने गरेको बताउँछन् ।

पर्याप्त सिँचाइ सुविधा नहुनु र एक वर्षभरि आकाशे पानीको भरमा एक बालीमात्र लगाउँदा यहाँ कमै अन्न उत्पादन हुने गर्दछ । रासस


पुष्प दुलाल