सूचना/प्रविधिको प्रयोगसँगै सुरक्षाप्रति सचेतना अपनाउनुपर्नेमा जोड




काठमाडौं । अनलाईलन कारोबारदेखि दैनिक जीवनलाई नै सहज बनाउने सूचना/प्रविधिको प्रयोगसँगै सुरक्षाप्रति पनि सचेतता अपनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

पछिल्ला दिनहरूमा साइबर अपराधका घटनाहरू बढ्दो क्रममा रहेको भन्दै सूचना/प्रविधिमा विकसित पछिल्ला संस्करणको प्रयोगसँगै सुरक्षाप्रति पनि सचेतता अपनाउनुपर्ने उनीहरूले बताएका हुन् ।

राज्यको साइबर सुरक्षा नीति र व्यवस्थापन पक्ष नै फितलो हुँदा साइबर अपराधका घटनाहरू बढेको भन्दै उनीहरूले साइबर अपराध विरूद्धको अभियानमा राज्यको नीति र लगानीको खाँचोको आवश्यकता औंल्याए । सूचना/प्रविधि प्रयोगको सबैभन्दा उत्तम प्रयोग र उपयोग गरेर मात्रै यसको जोखिम न्यूनिकरण गर्न सकिने उनीहरूको भनाइ थियो ।

पूर्वमन्त्री एवं सांसद गगन थापाले राजधानीमा आयोजित ‘साइबर सेक्युरिटिज थ्रेट्स एण्ड काउन्टर मेजर्स’ विषयक अन्तरक्रियामा बोल्दै सूचना÷प्रविधिको प्रयोग आम नागरिकको दैनिकी बनिसकेको भन्दै यसको बढ्दो प्रयोगसँगै सुरक्षाका विषयमा जानकारी राख्नुपर्ने आवश्यकता औंल्याए ।

प्रविधिका विषयमा आफु विज्ञ नभएको भन्दै उनले पछिल्लो समयमा यसको प्रयोग र सुरक्षाका विषयमा जानकारी राख्न जरूरी भइसकेको बताए ।

आफु स्वास्थ्यमन्त्री हुँदा सूचना÷प्रविधिको सहयोगबाट नै सेवाग्राहीलाई स्वास्थ्य उपचार सेवासम्बन्धी सूचना प्रदान गर्न अधिकतम प्रयास गरिएको भन्दै संसद थापाले कर्मचारीबीचको आन्तरिक विवादका कारण सूचना÷प्रविधिको प्रयोगमा अपेक्षाकृत सफलता नमिलेको बताए ।

साइबर सेक्युरिटिका विविध विषयमा काम गदै आएको अमेरिकन कम्पनी जेन ३७ र रोलिङ प्लानले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममाा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरूङले विद्युतीय कारोबार ऐन बनेपछि विद्युतीय कारोबारबाट हुने केही अपराधका घटनामा नियन्त्रण भन्दै साइबर सुरक्षासम्बन्धी ऐन बनेपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय ह्याकरलाई कानुनको दायरामा ल्याउनका साथै स्वयम प्रयोगकर्ताले सुरक्षात्मक उपाय अपनाउन सक्ने बताए ।

सूचना÷प्रविधि प्रयोगमा नेपाल अन्य मुलुकहरूको तुलनामा अगाडि भए पनि सुरक्षाका दृष्टिकोणले कमजोर रहेको भन्दै सचिव गुरूङले सरकारी निकायले गर्नुपर्ने जनचेतना र सचेतना कार्यक्रमहरू निजी क्षेत्रको अगुवाईमा आयोजना भएको पाउँदा खुशी लागेको बताए । साइबर सुरक्षामा नेपाल कमजोर रहेकोले सइबर सुरक्षा ऐनसम्बन्धी मस्यौदा निर्माणको तयारी भइरहेको उनले बताए ।

नेपाल राष्ट्र बैंकका उपनिर्देशक प्रल्हाद गिरीले सूचना तथा प्रविधिको प्रयोगसँगै सुरक्षा चुनौति पनि थपिँदै गएकाले यसबाट बच्ने सुरक्षात्मक उपाय र अपराधीलाई कानुनी दायरामा ल्याउने विषयमा छलफल हुन जरूरी रहेको बताए ।

अमेरिकन कम्पनी जेन ३७ का अध्यक्ष तथा सूचना÷प्रविधि विज्ञ ग्युरिन मोरम्यानले उत्तर कोरिया, रूस, अमेरिका, बेलायत र चीनमा साइबर सुरक्षा चुनौतिपूर्ण बन्दै गएको बताए । नेपालमा पनि बाह्य प्रभाव पर्न सक्ने भन्दै उनले सुरक्षाका उपाय अवलम्बन जरूरी भएको बताए ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)का प्रहरी उपरीक्षक नवीन अर्यालले साइबर सुरक्षाका लागि साइबर कानुनमात्र पर्याप्त नभएको भन्दै व्यक्तिगत तथा संस्थागत महत्वपूर्ण दस्तावेजको सुरक्षाका लागि पनि साइबर सुरक्षा ऐनको आवश्यकता औंल्याए । सूचना÷प्रविधिको बढ्दो प्रयोग र सहज पहुँचका कारण प्रायः सरकारी तथा गैरसरकारी कार्यालयहरू ‘पेपरलेस’ को युगमा गइसकेको भन्दै उनले यसको बढ्दो प्रयोगसँगै सुरक्षाका निम्ति आवश्यक कानुन बन्न जरूरी भएको बताए ।

रोलिङ प्लानका अध्यक्ष अनुप जंगमले नेपालमा साइबर हमलाको अवस्था बढेर गएकाले साइबर अपराधका घटनाहरूमा बृद्धि हुँदै गइरहेको भन्दै बैंक तथा वित्तीय क्षेत्रमा साइबर हमलाका घटनाहरू बढेर गएको बताए । उनले नेपालमा बढ्दो साइबर थ्रेटसँगै साइबर सुरक्षाको प्रभावकारी व्यवस्थापन हुन नसकेको भन्दै साइबर अपराध र साइबर अपराधविरूद्धको अभियान अहिलेको आवश्यकता भएकोमा जोड दिए ।

नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका प्रतिनिधिहरूको साथै बैंक, विभिन्न कम्पनी तथा संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको सो कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरूले आफ्ना प्रस्तुति राखेका थिए


पुष्प दुलाल