कात्तिक २१ देखि सेयर कारोबार अनलाइनबाट



काठमाडौं । कात्तिक २१ देखि सेयर कारोबार अनलाइन माध्यमबाट गर्न सकिने भएको छ ।

कार्यकाल सकेर बिदा हुन लागेका नेपाल स्टक एक्सचेन्जका महाप्रवन्धक सिताराम थपलियाले पत्रकार सम्मेलन गर्दै कात्तिक २१ देखि सेयरको अनलाइन कारोबार हुने जानकारी दिए ।

अनलाइन कारोबारको लागि सबै काम भइरहेको र कात्तिक २१ देखि यो प्रणाली मार्फत कारोबार हुने थपलियाले  बताए ।

गत मंगलबार अनलाइन कारोबारको सफट्वेयर निर्माण कम्पनीले नेप्सेलाई अनलाइन कारोबारको बारेमा जानकारी गराएको थियो ।

बुधबार कम्पनीका परियोजना व्यवस्थापक संजय चौधरीले नेप्सेका उच्च अधिकारीलाई परियोजनाको बारेमा जानकारी गराएको थियो ।

‘प्रस्तावित प्रणालीको विभिन्न मोडुलहरुमा समानान्तर ढंगले काम भइरहेको छ,’ चौधरीले नेप्सेका अधिकारीसँग भने, ‘आगामी कात्तिकको तेस्रो साता प्रयोगकर्ताले नयाँ प्रणालीबाट कारोबार गर्न
सक्नेछन् ।’

चौधरीले कारोबार, राफसाफ तथा फछ्र्यौट, सुपरिवेक्षण तथा अनुगमन, जोखिम व्यवस्थापन लगायत प्रस्तावित प्रणालीमा रहेका विभिन्न मोडुलहरुको विकास कुनकुन चरणमा छ भन्ने जानकारी गराएका थिए ।

उनले प्रस्तावित प्रणालीका लागि आवश्यक सम्पूर्ण हार्डवयर उपलब्ध गराइसकेको पनि जानकारी दिए । ‘हामी निर्धारित समयभित्रै अल्फा, बिटा टेस्टमा जान्छौं,’ उनले भने ।


क्लिकमान्डु