मिसन डेभलपमेन्टले हकप्रद भर्नेलाई बोनस नदिने, दिनुपर्छ भन्दै बोर्डमा उजुरी




काठमाडौं । बुटबलमा केन्द्रीय कार्यालय रहेको मिसन डेभलपमेन्ट बैंकले हकप्रद सेयर भर्ने सेयरधनीलाई गत आर्थिक बर्षको नाफाबाट बोनस सेयर नदिने भएको छ ।

बैंकले प्रकाशित गरेको बार्षिक साधारणसभाको सुचनामा गत असार मसान्तमा कायम रहेको चुक्तापुँजीको आधारमा २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारणसभाको लागि राखिएको छ ।

तर बैंकले २०७३ चैत ३ गतेदेखि २०७४ बैशाख ६ गतेसम्ममा १ बराबरको १ को दरले (शतप्रतिशत) हकप्रद सेयर जारी गरेको थियो । बैंकले असार २६ गते बार्षिक साधारणसभा गर्दैछ । साधारणसभाको सुचनामा २०७३ असार मसान्तमा कायम रहेको चुक्ता पुँजी १९ करोड ४९ लाख २५ हजार रुपैयाँको २२ प्रतिशतका दरले बोनस सेयर बितरण गर्ने विशेष प्रस्ताव राखिएको जानकारी दिइएको छ ।

बैंकले हकप्रद भर्ने सेयरधनीलाई कानुन अनुसार पाउनु पर्ने बोनस सेयर नपाएको भन्दै सेयरधनीले धितोपत्र बोर्डमा उजुरी गरेका छन् ।

साधारणसभा प्रयोजनको लागि बुकक्लोज हुनुअगाडि कायम रहेका सेयरधनीले बोनस पाउनु पर्ने उजुरीकर्ताको दाबी छ । कानुन अनुसार आफूहरुले पाउनु पर्ने बोनसबाट बैंक संचालकले बन्चित गर्न खोजेको आरोप उजुरीकर्ताले लगाएका छन् ।

बैंक ब्यवस्थापनले भने प्राविधिक कारणले हकप्रद भर्नेलाई बोनस दिन नसकिएको दाबी गरेको छ । यसअघि जारी गरिएको हकप्रद सेयर नेप्सेमा लिस्टिङ नभएको कारण बोनस सेयर दिन नसकिएको बैंकका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद घिमिरेले जानकारी दिए ।

‘हामीले हकप्रद जारी गर्नुभन्दा अगाडि नै राष्ट्र बैंकले साधारणसभाको स्वीकृति दिइसकेको थियो, तर स्थानीय तहको निर्वाचनका कारण बार्षिक साधारणसभाको सुचना प्रकाशित गर्न केही ढिलाइ भयो, यसो हुँदा हकप्रद अगाडि र साधारणसभा पछाडि भयो, हामीले जारी गरेको हकप्रद सेयर नेप्सेमा अझै लिस्टिङ भएको छैन, नेप्सेमा लिस्टिङ नभएको सेयरलाई हामीले क्यापिटलाइज्ड गर्न पनि सक्दैनौं, यसैकारण हकप्रद भर्नेले बोनस नपाउने भएका हुन्,’ घिमिरेले क्लिकमाण्डूसँग भने ।

बुक क्लोज हुनुअगाडि कायम रहेका सेयरधनीले भने बोनस पाउने घिमिरेको भनाइ छ ।

बैंकले आफूहरुलाई पाउने पर्ने बोनसबाट बन्चित गर्न लागेको उजुरी परेको धितोपत्र बोर्डका सहायक प्रवक्ता निरन्जय घिमिरेले जानकारी दिए । सो उजुरीको सम्बन्धमा अध्ययन भइरहेकोले अध्ययन पछि मात्रै के गर्ने भन्ने टुंगो लाग्ने उनको भनाइ छ ।


क्लिकमान्डु