सेयर कारोबारमा भ्याट लगाउन हुदैनः पूर्वअर्थमन्त्री डा. महत



नुवाकोट । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले सेयर कारोबारमा मूल्य अभिबृद्धि कर (भ्याट) लगाउन नहुने बताएका छन् ।

नुवाकोटको लिखू गाउपालिका चौघडामा पत्रकारहरुसँग कुरा गर्दै डा. महतले यस्तो धारणा सार्बजनिक गरेका हुन् ।

सेयर कारोबारमा भ्याट लगाउने कुरा आफूलाई सिद्धान्ततः राम्रो नलागेको भन्दै अर्थमन्त्रालयले अन्तराष्ट्रिय अभ्यास र प्रचलन अनुसार गर्नुपर्ने उनको सुझाब छ ।

‘सेयर कारोबारमा भ्याट लगाउने कुरा सिद्धान्ततः मलाई राम्रो लागेन, सेयर ब्रोकर साथीहरु हिजो मलाई भेट्न आउनु भएको थियो, मैले उहाँहरुलाई अर्थमन्त्रालय गएर अन्तराष्ट्रिय प्रचलन अनुसार गरिदिनुस् भनेर अनुरोध गर्नुस् भनेँ, सेयर कारोबारमा भ्याट लगाउने अन्तराष्ट्रिय प्रचलन भए जस्तो मलाई लाग्दैन,’ डा. महतले भने ।

सेयर कारोबारमा अचानक भ्याट लगाउँदा लगानीकर्ता निरास भइ लगानी प्रभावित हुन सक्ने उनको भनाइ छ । यस्तै सरकारले सेयर ब्रोकरलाई भ्याटमा दर्ता हुन आग्रह गरेकै आधारमा सेयर कारोबार ठप्प पार्ने ब्रोकरको क्रियाकलाप पनि आफूलाई मन नपरेको उनले बताए ।


क्लिकमान्डु