को बन्छ नेप्सेको नयाँ महाप्रबन्धक ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्जका महाप्रवन्धक सिताराम थपलियाको कार्यकाल यो साता सकिदै छ ।

लाखौ लगानीकर्ता रहेको सेयर बजारमा लगानीकर्ताले नयाँ जिएम को आउला भनेर चासो पूर्वक हेरेका छन् ।

सरकारको नेतृत्व कांग्रेसले गरेको र अर्थमन्त्रीपनि कांग्रेसको भएको हुँदा अहिलेको महाप्रवन्धक थपलियाले दोहोरिने इच्छा जनाएका थिए । तर,प्रधानमन्त्री तथा अर्थमन्त्री थपलियालाई दोर्याउने पक्षमा छैनन् । अर्थमन्त्रालयको मातहतमा पर्ने नेप्सेको महाप्रवन्धक प्रधानमन्त्री देउवाले जसलाई बनाउन चाह्यो त्यही बन्ने सम्भावना छ ।

नेप्सेका महाप्रवन्धक थपलियाले दोस्रो कार्यकालको लागि नियुक्ती थप नभएपछि अहिले आधा दर्जनभन्दा बढी व्यक्ति जिएम बन्न लागेका छन् ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचन अगाडिसम्म नेप्सेको जिएमको लागि राष्ट्र बैंकमा सात वर्ष काम गरेका ज्योति विकास बैंकका डेपुटी सिइओ मनोज ज्ञवाली,एनआईबिएल क्यापिटका विनोद प्याकुरेल,नुवाकोटका भोला पाण्डे लगायतको नाम चर्चामा थियो ।

यस्तै इन्भेष्टर फोरमका अध्यक्ष डा आन्तराम घिमिरे,राष्ट्र बैंकबाट कार्यकारी निर्देशकबाट अवकास पाएका र हाल गुराँस लाइफमा प्रमुख कार्यकारी अधिकृतमा काम गरेका शिवनाथ पाण्डेको नामपनि महाप्रवन्धकको लागि चर्चामा थियो । चाटर्ड एकाउन्टेन्स प्रकाश लम्सालपनि चर्चामा थिए ।

निर्वाचन अगाडिसम्म ज्योतिका डेपुटी सिइओ मनोज ज्ञवालीको चर्चा बढी भएपनि निर्वाचनपछि भने नयाँ नाम चर्चामा आएको छ ।

दोस्रो चरणको निर्वाचनपछि एकाएक अहिले कर्जा तथा सुरक्षण निगमका महाप्रवन्धक डण्डपाणी पौडेलको नाम चर्चामा आएको छ । एकाएक पौडेलको नाम चर्चामा आएपछि लगानीकर्ता समे अनौठो मानेका छन् । बजार बुझेका व्यक्ति नियुक्त भएमा सेयर बजार सुधार हुने अपेक्षा लगानीकर्ता छ ।

थपलियाको कार्यकाल असार २२ गतेसम्म छ । खिलराज रेग्मी नेतृत्वको सरकारमा थपलिया नेप्सेको जिएममा नियुक्त भएका थिए । दिनको एक अर्ब रुपैयाँको कारोबार हुने पछिल्लो समय सेयर बजार पुरानो प्रविधिबाट नयाँ प्रविधिमा जान लागेको हुँदा जिएम पद आकर्षक छ ।


क्लिकमान्डु