सेयर ब्रोकर कमिसनमा भ्याट नलगाउन उद्योग वाणिज्य महासंघको माग




काठमाडौं । सेयर ब्रोकर कमिसनमा मुल्य अभिबृद्ध कर(भ्याट) नलगाउन उद्योग वाणिज्य महासंघले माग गरेको छ ।

शेयर ब्रोकर कमिसनमा मुल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको पछिल्लो निर्णयबाट धितोपत्र दलाल व्यवसायीहरूमा परेको कठिनाई तथा सोबाट धितोपत्र कारोवारमा उत्पन्न समस्याका बिषयमा नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

आन्तरिक राजस्व विभाग मातहतका करदाता सेवा कार्यालयबाट धितोपत्र दलाल व्यवसायीहरूलाई मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा ५(ख) बमोजिम यथाशीघ्र मु.अ.करमा दर्ता हुने जानकारी गराई विगत ४ वर्षदेखिको भ्याट  निर्धारण गरी १५ दिनभित्र नेपाल सरकारको संचित कोषमा दाखिला गर्नुभनी दिएको आदेशबाट धितोपत्र व्यवसायीहरू आन्दोलित हुँदा बिहीवारदेखि धितोपत्र कारोबार ठप्प रहेको छ ।

आन्तरिक राजस्व विभागको पत्रबाट धितोपत्र बजारमा गम्भीर असर पर्नुको साथै शेयरमा लगानी गरी आफ्नो ससानो रकम बचत गर्दै आएका सर्वसाधारण जनतामा समेत त्रासको वातावरण पैदा हुने महासंघको चिन्ता व्यक्त गरेको छ । विभिन्न वहानामा उद्यमी व्यवसायी माथि धरपकड गर्ने, छानविन गर्ने, अप्रत्याशित रूपमा नीतिगत परिवर्तन गरी उद्योग व्यवसायनै ठप्प पार्ने कार्यबाट उद्योग व्यवसाय क्षेत्र त्रसित बनिरहेको अवस्थामा सरकारको पछिल्लो यो निर्णयबाट धितोपत्र व्यवसाय पनि मारमा पर्ने आशंका पैदा भएको छ ।

धितोपत्र व्यवसायीले दिने सेवा वित्तीय सेवा अन्तरगत पर्ने र विद्यमान मुअकर ऐनले वित्तीय सेवालाई छुटको दायराभित्र राखेको, अन्तर्राष्ट्रिय वित्तीय कारोवार ऐन, २०५४ को दफा ४(त)मा दलाल व्यवसायीले प्रदान गर्ने सेवा वित्तिय सेवानै रहेको उल्लेख भएको, नेपाल धितोपत्र बोर्ड पुँजीबजारको नियामक निकाय रहेको र बोर्डले समेत धितोपत्र दलाली दस्तुर मुअकरको दायरा बाहिर रहेको भनी स्पष्ट व्याख्या गरेको सन्दर्भमा उक्त व्यवसायमै प्रहार गर्ने यस्ता निर्णयले मुलुकको अर्थतन्त्रमा कस्तो असर पार्ला गम्भीर भएर सोच्न सरकारसंग आग्रह गरेको छ ।

भ्याट लगाउने निर्णय तत्काल स्थगन गरी कर निर्धारण गर्ने भन्दा बाहेकका विधिबाट बेरुजु फछ्र्यौट गर्न, नीतिगत तहमानै स्पष्टता ल्याई दीर्घकालीनरूपमा समस्या समाधान गर्न महासंघले माग गरेको छ ।


क्लिकमान्डु