सेयर बजार अचानक बन्द नगर, समस्या भए सम्बन्धित निकायसँग कुरा गरः अर्थमन्त्रालय




काठमाडौं । मूल्य अभिबृद्धिकर (भ्याट) बिबादका कारण बिहिबार बन्द भएको बजार खुलाएर कारोबार थाल्न अर्थमन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले कारोबार खुल्ला नहुन्जेल यो विषयमा कसैसँग पनि छलफल नगर्ने रणनीति बनाएको छ ।

अचानक बजार बन्द हुदा अन्तराष्ट्रिय रुपमै नकारात्मक सन्देश प्रवाह भएकोले पहिला कारोबार खुल्ला गर्नुपर्ने अर्थमन्त्रालयका राजस्व सचिब शिशिर ढुंगानाले बताए ।

‘कुनै विषयमा अप्ठेरो भएको हो भने सम्बन्धित निकायका पदाधिकारीहरुसँग बसेर छलफल गर्दा हुन्छ, आन्तरिक राजस्व विभाग र नेपाल स्टक एक्सचेन्जले यो बिषय सल्टाउन सक्छन्, त्योभन्दा माथिल्लो तहमा मन्त्रालय छ, तर बजारै बन्द गर्ने कार्यले राम्रो सन्देश गएन, यो राम्रो भएन, बजार खोलेर उहाँहरु छलफलको लागि आउनुहुन्छ भने छलफल गर्न मन्त्रालय तयार छ,’ सचिब ढुंगानाले क्लिकमाण्डूसँग भने ।

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले बिहिबार राती प्रेस विज्ञप्ति जारी गर्दै आइतबारदेखि सेयर कारोबार खुल्ला गराउन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ । अर्थतन्त्रको लाइफ लाइन मानिने पुँजी बजार बन्दा हुँदा नकारात्मक सन्देश गएको र असर परेको भन्दै बोर्डले यस्तो निर्देशन दिएको हो ।

नेप्सेले शुक्रबार बिहान ब्रोकर संघका पदाधिकारीसँग छलफल गरेको छ । सो छलफलमा आइतबारदेखि बजार खुलाउन आफूहरुले निर्देशन दिएको नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले जानकारी दिए ।

‘बजार बन्द गर्नु हुदैन, हामीले यो कुरा उहाँहरु (ब्रोकर संघका पदाधिकारीहरु) लाई प्रष्टसँग भनेका छौं, आइतबार पनि हाम्रो बजार खुल्ला हुन्छ, उहाँहरुले लगानीकर्ताको आदेश प्रबिष्ट गरेर कारोबार हुने वातावरण मिलाउनु पर्छ, प्राविधिक समस्या समाधानको लागि सम्बन्धित निकायका अधिकारीहरुसँग बसेर छलफल गर्न सकिन्छ, त्यसको लागि नेप्सेले सहयोग गर्छ भनेर उहाँहरुलाई भनेका छौं,’ ब्रोकर संघका पदाधिकारीसँगको छलफल पछि नेप्सेका महाप्रबन्धक थपलियाले क्लिकमाण्डूसँग भने ।

ब्रोकर संघले भने भ्याट बिबाद नमिलेसम्म सेयर कारोबार गराउन नसकिने बताएको छ । बिहिबार अपरान्ह संघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रियराज रेग्मीले अबको कारोबारमा भ्याट लिने नलिने र लिदा कुन विधि र प्रक्रियाबाट लिने भन्ने अन्यौल उत्पन्न भएकोले यो बिषय टुंगो नलागेसम्म कारोबार खुलाउन नसकिने बताएका थिए ।

कर कार्यालयले विगत ४ बर्षदेखिको ब्रोकर कमिसनको भ्याट तिर्न ब्रोकरलाई पत्राचार गरेपछि ब्रोकरले बिहिबार सेयर कारोबार बन्द गरेका थिए । महालेखा परीक्षकको कार्यालयले विगत ४ बर्षदेखिको ब्रोकर कमिसनमा भ्याट नलिएको भन्दै सम्बन्धि कर कार्यालयहरुलाई भ्याट उठाउन भनेको छ ।

कमिसनमा उठाउनु पर्ने १३ प्रतिशतका दरले हुने रकम सम्बन्धित कर कार्यालयको बेरुजुमा महालेखाले राखेको छ । महालेखाको यही निर्देशनका आधारमा कर कार्यालयले ब्रोकर कमिसनमा भ्याट तिर्न ब्रोकरलाई पत्राचार गरेको हो ।

संघले भने भ्याट विबाद नसुल्झिएसम्म कारोबार गराउन नसक्ने अडान दोहोर्याएको छ ।

‘सरकारी निकायबाट कारोबार खुल्ला गर्न दबाब आइरहेको छ, हाम्रो चाहनाले कारोबार बन्द भएको होइन, प्राविधिक विषय टुंग्याउनु पर्ने भएकाले त्यो टुंग्याइदिन भनेका छौं, यो विषय टुंगिनेबित्तिकै कारोबार सुचारु हुन्छ,’ संघका पूर्वअध्यक्ष नरेन्द्र सिँजापतीले क्लिकमाण्डूसँग भने ।

संघले शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँग भेटेर आफ्नो समस्याको बारेमा जानकारी पनि गराएको छ ।

शुक्रबार २ बजे आन्तरिक राजस्व विभागका महानिर्देशक र साँझ ५ बजे अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटेर आफ्नो समस्या जानकारी गराउने सिँजापतीले जानकारी दिए ।


क्लिकमान्डु