बेरुजु कहालीलाग्दो भयो, घटाउन पहल गर्नुस्ः राष्ट्रपति




काठमाडौं । राष्ट्रपति बिद्यादेबी भण्डारीले सरकारी बेरुजु कहालीलाग्दो बनेको भन्दै घटाउन निर्देशन दिएकी छन् । महालेखा परीक्षकको कार्यालयको ५९ औं बार्षिकोत्सब कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

महालेखा परीक्षकको कार्यालयका अनुसार गत आर्थिक बर्षसम्ममा सरकारी कार्यालय, निकाय, संस्थान र अन्य निकायमा गरी ३ खर्ब ९६ अर्ब रुपैयाँ बेरुजु रहेको छ । बेरुजुको यो तथ्यांक कहालीलाग्दो भएको भन्दै राष्ट्रपति भण्डारीले बेरुजु फछ्र्योटको लागि निर्देशन दिएकी हुन् ।

‘सार्बभौम जनताले तिरेको राजस्व र नेपालका सुभेच्छुक मित्रराष्ट्रले दिएको अनुदान र ऋण सहयोग खर्दा गर्दा वित्तीय अनुशासन पालना गराउनु महालेखाको प्रमुख चुनौति बनेको छ, बेरुजु रकम कहालीलाग्दो देखियो, घटाउने पहल गर्नुपर्यो’, कार्यक्रममा सहभागी अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीतर्फ इंगित गर्दै भण्डारीले भनिन् ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेरुजु घटाउन आफूले सक्दो पहल गर्ने बताए । वित्तीय अनुशासन पालना गराउन महालेखाको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले स्थानीय तह गठन भइसकेको सन्दर्भमा ती निकायको पनि लेखापरीक्षण महालेखाले गर्नुपर्ने भएकोले चुनौति अझै थपिएको सम्झाए ।

महालेखा परीक्षक टंकमणि शर्माले २०७४ देखि सुरु हुने महालेखाको ६ बर्षे रणनीतिक कार्यक्रमको बारेमा जानकारी दिए । सार्बजनिक निकायका पदाधिकारी र कर्मचारीलाई वित्तीय अनुशासन पालना गराउन महालेखा प्रयासरत रहेको भन्दै शर्माले बेरुजु कम गर्न सरकारी निकाय, ब्यवस्थापिका संसदका सार्बजनिक लेखा समितिसहितका समितिहरु, संबैधानिक निकायहरु र अन्य सरोकारवालसँगका सहकार्यमा जोड दिने उनको भनाइ छ ।

कार्यक्रममा निवर्तमान महालेखा परीक्षक भानुप्रसाद आचार्यलाई सम्मान गरिएको छ । यस्तै महालेखाको ५९ औं बार्षिकोत्सब कार्यक्रममा संघीय संरचनामा महालेखाको भूमिका विषयक देशब्यापी निवन्ध प्रतियोगिता पनि गरिएको थियो । सो प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

निबन्ध प्रतियोगितमा बैभवदेब श्रेष्ठ प्रथम भएका थिए भने एस पोखरेल शिव द्धितीय र लेखबहादुर थापा तृतीय भएका थिए ।

यस्तै महालेखाका ६ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो । यस्तो पुरस्कारबाट पुरस्कृत हुनेहरुमा महालेखा परीक्षक कार्यालयका निर्देशक शिवराम गुरुङ तथा लेखापरीक्षण अधिकारीहरु सबिना चित्रकार, कुमार आचार्य, शिवहरि पोखरेल र मधुसुदन महत छन् । यस्तै महालेखाको हलुका सबारी चालक सूर्यबहादुर तामाङ पनि पुरस्कृत भएका छन् । पुरस्कृत कर्मचारीहरुलाई जनही ५ हजार रुपैयाँ नगद, प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको छ ।


क्लिकमान्डु