सिंहदरबार जोगाउन तात्यो सरकार



काठमाडौं । २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पश्चिमी मोहडालाई तत्काल बाह्य क्षतिबाट जोगाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम शुरु गरेको छ ।

मनसुन शुरु हुन लागेकाले तत्कालका लागि पानीबाट जोगाउन मंगलबारदेखि बिशेष खाले प्लाष्टिक (सिल्पोलिङ सिट) ले पश्चिमी मोहडातर्फको ३३ हजार १ सय फिट क्षेत्रफलको छानालाई छोप्ने कार्य शुरु भएको हो ।

स्क्याप फोल्डिङका लागि पनि टेण्डर प्रक्रिया गरि गुणस्तर परीक्षणका लागि बिभागमा पठाइएको छ ।

क्षतिग्रस्त उक्त भागलाई पुर्णरुपमा ढाक्न करिब एक साता लाग्ने प्राधिकरणका सहसचिव प्रकाश थापाले बताए ।

प्राधिकरणको २०७३ माघ २५ गते बसेको कार्यकारी समितिको ४५ र्आै बैठकले पश्चिमी मोहडाको तर्फको भागलाई संरक्षण÷प्रवलीकरण गर्न समिति गठन गरेको थियो ।

केही परामर्श दाता कम्पनीले सिहदरबारको उक्त भागलाई भत्काउने सल्लाह दिएका थिए । एशियाकै ऐतिहासिक धरोहरको रुपमा रहेको सिंहदरवारको मौलिक संरचना जोगाउन आवश्यक भएकाभो भन्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले उक्त भवनलाई नभत्काएर प्रवलीकरण गर्ने गरि पुनर्निर्माण गराउने निर्णय गराएका थिए ।

उक्त भवनलाई प्रवलीकरण गरि संग्रालयको रुपमा विकास गर्ने प्राधिकरणको योजना छ ।

प्राधिकरणले सिहदरवारको उक्त भागलाई प्रवलीकरण गरि पुनर्निर्माण गर्न कार्यकारी समिति सदस्य डा. हरिराम पराजुलीको संयोजकत्वमा उपसमिति नै गठन गरेको छ । उप समितिले अन्य बिज्ञ सदस्यहरुसँग राय सल्लाह लिएर प्रवलीकरणको काम अघि बढाउनेछ ।


पुष्प दुलाल