पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, गाडीको लामो लाइन



चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खसेपछि गएराति १ बजेबाट सडक अवरुद्ध भएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ भित्तो काटिएको ठाउँमा पहिरो खसेको हो ।

राति ९ बजे पनि सोही ठाउँमा पहिरो खसेकामा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो । सुरुमा सानो पहिरो भए पनि राति ठूलो पहिरो खसेकाले पन्छाउन समय लाग्ने उनले जानकारी दिए।

पहिरो पन्छाउनका लागि तीनवटा एक्साभेटर र एउटा लोडर परिचालन गरिएको जनाइएको छ ।

पहिरो खसेसँगै सडकको दुवैतर्फ सवारीसाधनको लामो लाइन लागेको छ । दिनको समयमा सडक रोकेर काम गरिने हुँदा बिहान बेलुका र रातको समयमा सवारी चाप बढ्ने बेला पहिरो खसेपछि यात्रुले दुःख पाएका हुन् । रासस


क्लिकमान्डु