बन्द भएका गोर्खा र डाइनामिक एयरलाइन्सको लाइसेन्स ब्यूँतियो



काठमाडौं । चार बर्षअघि बन्द भएको गोर्खा र डाइनामिक एयरलाइन्सको इजाजत पुनः व्युँतिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले दुवै एयरलाइन्सलाई यही बर्ष उडान सुरु गर्नु पर्ने शर्तमा लाइसेन्स ब्युँताइ दिएको हो ।

डाइनामिकले भने नाम परिवर्तन गरेर भिभा नेपाल एयरवेजको नाममा संचालनमा आउने भएको छ । भिभाले पनि अन्तर्राष्ट्रिय उडानको लागि प्रक्रिया अगाडी बढाएको छ ।

त्यसैगरी, गोर्खाले आन्तरिक उडान भर्नेगरी इजाजत पुनः ब्यूँताएको छ । मन्त्रालय स्रोतका अनुसार एकवर्ष भित्र संचालनमा नआएको इजाजत खारेज गर्ने संर्तमा अनुमति दिएको पाइएको छ ।

दुईवटै एयरलाइन्सले नेपाल नागरिक उड्ययन प्राधिकरणले नो अब्जेक्सन लेटर ‘एनओसी’ भने लिन बाँकी छ । दुबै कम्पनीले एनओसीका लागि प्राधिकरणमा निवेदन दिइ सकेका छन । एनओसी लिन उनीहरुले तीनदेखि पाँच महिनासम्म कुर्नुपर्ने हुन्छ । यी कम्पनी एयर अपरेटर सर्टिफिकेट ‘एओसी’ लिने प्रक्रिया पनि सुरु गरेका छन् ।

भिभा एयरवेजमा पुरानो डाइनामिक एयरलाइन्सका संचालकत्रय अनिल विश्वकर्मा गजमेर, ओमप्रकाश विश्वकर्मा र ठाकुरप्रकाश विश्वकर्मा रहेका छन् ।

भिभा नेपाल ‘डाइनामिक’ एयरवेजले चारवटा बोइङ ७३७-८०० जहाजले अन्तर्राष्ट्रिय उडान र दुईवटा एटिआर ७२-५०० जहाजबाट आन्तरिक उडान गर्ने प्रस्ताव मन्त्रालयमा पेश गरेको छ ।

कम्पनी जहाज भित्र्याएपछिको गन्तव्यका लागि समेत प्राधिकरणसँग निवेदन दिइसकेको छ । उसले दिल्ली, दुबई, दोहा, क्वालालाम्पुर र ढाकाका लागि उडान अनुमति माग गरेको छ ।

कम्पनीले दुईवटा बोइङ र दुईवटा एटिआर जहाज किन्ने एवं बाँकी दुईवटा बोइङ भाडामा ल्याएर चलाउने उल्लेख गरेको छ । सन् २०१८ लाग्नु अगावै कम्पनीले उडान सुरु गर्ने लक्ष लिएको छ ।

कम्पनीले भने बमोजिम बैंक खातामा उक्त रकम नपाइएपछि सरकारले लाइसेन्स खारेजीको प्रकृया अघि बढाएको थियो ।

डाइनामिकले ६ बर्षअघि मन्त्रीपरिषद्बाट डाइनामिकलाई ‘बि क्लास इन्टरनेसनल लाइसेन्स पाएको थियो । त्यो बेलाको सर्त अनुसार ६ महिनाभित्र जहाज उडान नसक्दा कम्पनीको लाइसेन्स खारेज भएको थियो । कम्पनीले जहाज खरिद गर्न भन्दै सरकारका नाममा ५० लाख रुपैयाँको धरौटी समेत देखाएको थियो ।

तर, कम्पनीले भने बमोजिम बैंक खातामा उक्त रकम नपाइएपछि सरकारले लाइसेन्स खारेजीको प्रकृया अघि बढाएको थियो ।

गोर्खा एयरलाइन्सको सन् २०१० मा लाइसेन्स ‘सस्पेन्डेड’ भएको थियो । कम्पनीले लाइसेन्स खारेज हुनुअघि ब्राजिलियन उत्पादकका दुईवटा इआरजे ट्विन इन्जिन र दुईवटा डोर्नियर एयरक्राफ्टबाट आन्तरिक उडान गरेको थियो ।

यो कम्पनी प्रज्वल श्रेष्ठको स्वामित्वमा छ । सिङ्गल इन्जिन जहाजले यात्रु बोक्नपाउने प्रावधान हटाएपछि यो कम्पनी बन्द भएको थियो ।

सन् १९९६ मा स्थापना भएको गोर्खा एयरलाइन्सले सुरुमा एमआई-१७ हेलिकप्टरबाट सेवा दिएको थियो । एयरलाइन्स ब्युँतिने क्रममा कम्पनीले भारतको भिर्गो एयरलाइन्ससँग व्यापारिक साझेदारी गरेको छ ।

गोर्खा र भिर्गोबीच ज्वाइन्ट भेन्चर सम्झौता नै भइ सकेको जनाइएको छ । भारतमा यो कम्पनीले आकाशगंगा एयरलाइन्सको नामवाट पनि हवाई सेवा संचालनमा रहेका छन् ।


पुष्प दुलाल