महानगरको ब्राण्डमा सामान उत्पादन गर्ने विद्यासुन्दरको घोषणा



काठमाडौं । काठमाडौं महानगरपालिकाले घरेलु तथा साना उद्योग महासंघ र घरेलु तथा साना उद्योगसँगको सहकार्यमा महानगरपालिकाको नाममा उत्पादन ब्राण्डिङ गर्ने भएको छ ।

नेपाल आउने विदेशीहरुलाई कोशेली दिने र अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले केही उत्पादनको ब्राण्डिङ गर्न लागिएको महानगरका मेयर विद्यासुन्दर शाक्यले बताए । शाक्यका अनुसार महानगरपालिकाले ब्राण्डिङ गर्ने उत्पादन गुणस्तरीय हुनेछन् ।

नेपालमा गुणस्तरीय वस्तुको उत्पादन गर्न नसक्दा सरकारले लाखौं रकम खर्चेर नेपालको जस्तै मौलिक पन झल्किने वस्तु अन्य देशबाट आयत गरिरहेको उल्लेख गर्दै उनले महानगरको तयारी सुनाए ।

घरेलु तथा साना उद्योग महासंघ र घरेलु तथा साना उद्योग संघ काठमाडौंले काठमाडौं जिल्लाका स्थानीय तहमा नवनिर्वाचितहरुलाई स्वागत तथा सम्मानका लागि आयोजना गरेको कार्यक्रममा शाक्यले यस्तो बताएका हुन् ।

नेपालमा दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै मेयर शाक्यले घरेलु तथा साना उद्योग महासंघ र घरेलु तथा साना उद्योग संघ काठमाडौंसँगको सहकार्यमा दक्ष जनशक्ति उत्पादनका लागि पहल गरिने बताए ।

‘नेपालमा साना उद्योग व्यवसाय गर्नेहरु घरपरिवारबाट हेपिने गरेका छन, साना कामबाटै मानिसले ठूला आर्थिक उपलब्धी हासिल गर्न सक्छन्,’ उनले भने ।

काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्कीले यस कार्यक्रबाट आफूले घरेलु तथा साना उद्योग महासंघ र घरेलु तथा साना उद्योग संघ काठमाडौंका बारेमा केहि बुझ्ने मौका मिलेको बताइन् ।

‘अहिले देशको प्रमुख चुनौति भने युवा पलायन हो, घरेलु तथा साना उद्योग महासंघ र घरेलु तथा साना उद्योग संघ काठमाडौंसँगको युवा पलायन रोक्नका लागि सहकार्य गरिनेछ,’ खड्कीले भनिन् ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले लघु घरेलु तथा सान उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताए ।

‘नेपाल घरेलु तथा साना उद्योग महासंघका गतिविधि ७५ जिल्लामा संचालन छन्, महासंघको विधान अनुसार नै अब महासंघका गतिविधि स्थानीय तहमा गठन गरिने छ,’ गिरीले भने ।

महासंघका उपाध्यक्ष विष्णुबहादुर लुइटेलले साना उद्योगको विकासका लागि लघु घरेलु प्रबर्दन बोर्ड स्थापना गर्न आवश्यक रहेको बताए ।


पुष्प दुलाल