प्रधानमन्त्री देउवाले भने– संविधानलाई सर्वस्वीकार्य बनाएर दोस्रो चरणको निर्वाचन गरिन्छ



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सर्वस्वीकार्यता बढाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउने योजनामा सरकार रहेको बताएका छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि प्रमुख प्रतिपक्षी दलको समेत सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाइने वचनबद्धता प्रकट गरे ।

भरतपुर महानगरपालिकामा मात्रै पहिलो पटक मतपत्र च्यातिएको नभई अन्यत्र पनि त्यस्तो घटना भएको स्मरण गराउँँदै प्रधानमन्त्री देउवाले यस विषयमा निर्वाचन आयोगले लिएको निर्णय र यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको समेतलाई सबै दलले सोही आधारमा बुझ्ने र लिनुपर्ने बताए ।

आफू सधै समावेशी समानुपातिक प्रतिनिधित्वको पक्षमा रहँदै आएको र सोही पक्षमा अनवरत सङ्घर्ष गर्दै आएको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले संविधानले प्रत्याभूत गरेको विषयमा आफू प्रस्ट रहेको बताए ।

विगतमा पटक÷पटक सहमतिको प्रयास भएको भए पनि सहमतिको वातावरण बन्न नसकेको स्मरण गर्दै प्रधानमन्त्रीले आफू सधै राष्ट्रिय सहमति र सहकार्यमै विश्वास गर्ने र सोहीअनुसार अगाडि बढ्ने बताए ।

नेकपा एमालेका नेता माधवकुमार नेपाललाई आफ्नो पार्टीले प्रधानमन्त्री बनाउन सहयोग गरेको प्रसङ्ग अघि सार्दै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल राज्यको अङ्ग नै भएकाले उसलाई उचित जिम्मेवारी र भूमिका दिइने वचनबद्धता प्रकट गरे ।

मधेसी जनताको भावनानुसार संविधान संशोधन जरुरी रहेको र स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गरिने प्रतिबद्धतालाई उनले पटकपटक दोहोर्याए ।

‘विगतमा संविधान संशोधन प्रस्ताव पारित गर्ने अवस्था रहेन । हामी निरन्तर प्रयासरत छौं । मधेस केन्द्रित दलले निर्वाचनमा भाग लिनुपर्छ, उहाँहरु निर्वाचनमा भाग लिनुहुन्छ भन्ने मलाई विश्वास छ,’ देउवाले भने ।

मुलुकको राष्ट्रिय एकता र भावनालाई कमजोर हुन नदिने उल्लेख गर्दै प्रधानमन्त्रीले सबै वर्ग तथा पक्षको भावनालाई उचित सम्मान गरेर सरकार अगाडि बढ्ने जानकारी दिए।

विश्वमै कही नभएको समावेशी समानुपातिक प्रणाली नेपालमा रहेको बताउँदै उनले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिको दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

संविधानको व्यवस्था अनुसार तीनवटा निर्वाचन सम्पन्न गरेर अगाडि जाने पक्षमा सरकार अविचलित रहेको पनि उनले जानकारी दिए।

व्यवस्थापिका–संसद्को अर्को बैठक यही जेठ २८ गते आइतबार १३ः०० बजे बस्नेछ । रासस


पुष्प दुलाल