खासमा के भएको हो कतारमा ? अब के होला ?



सानो, तर तेल र ग्यासको उपलब्धताको हिसाबले निकै धनी देश कतारसँग उसका केही छिमेकीहरुले कुटनीतिक सम्बन्ध तोडे पश्चात् बिश्व राजनीतिक र कुटनीतिक बृत्तमा तरङ्ग पैदा भएको छ । उनीहरुले कतारलाई आतंककारी संगठनहरुलाई सर्मथन गरेको आरोप लगाएका छन् ।

अहिले देखिएको कुतनीतिक दरार कतारको आफ्ना गल्फ छिमेकीहरुसँगको बिशेष गरी साउदी अरबसँगको बर्षौंदेखिको तनावको उपज हो ।

कतारी सुपरमार्केटहरु, अन्तराष्ट्रिय उडानहरु, बिश्व तेल बजार र अन्यत्र पनि यसका परिणामहरु देखिन थालिसकेका छन् ।

खासमा भएको के हो ?
कतारले बिगत लामो समयदेखि आफ्ना छिमेकीहरुसँग फरक फरक प्राथमिकता सहितको महत्वाकांक्षी कुटनीति संचालन गर्दै आएको थियो । तर, उनीहरुलाई पछिल्लो समय दुई वटा मुद्दाले चिंढ्यायो ।

पहिलो, कतारको क्षेत्रीय मुस्लिम अतिवादी समुह मुस्लिम ब्रदरहुड सहितलाई समर्थन, जसलाई कतारका अन्य छिमेमी राष्ट्रहरुले आतंकवादी संगठनको दर्जामा राखेका छन् ।

मुस्लिम ब्रदरहुड सन् १९२८ मा स्थापना भएको मुस्लिम अतिवादी संगठन हो । यसले ‘अरब बसन्त’ मा धेरै सर्मथकहरु कमाएको थियो । र, सन् २०१२ मा इजिप्टको सरकार निर्माणमा पनि महत्वपूूर्ण भूमिका खेलेको थियो ।

तर, पछि यस संगठनलाई आतंकवादी गतिबिधिमा संलग्न भएको आरोप लाग्यो । बहराइन, इजिप्ट, रसिया, सिरिया, साउदी अरब र युएइले यो संगठनलाई आतंककारी संगठन घोषणा गरेका छन् ।

यो संगठनको दर्शन ‘अल्लाह समाधान हुन्, अल्लाह हाम्रो उद्देश्य हुन्, कुरान संबिधान हो, मोहम्मद हाम्रा नेता हुन, जिहाद हाम्रो बाटो हो र मृत्यू अल्लाहको चाहनामा’ रहेको छ ।

दोस्रो, कतारको सिया मुस्लिम नेतृत्वमा रहेको इरानसँगको सम्बन्ध, जो सुन्नी मुस्लिम नेतृत्वमा चलेको साउदी अरबको प्रतिद्धन्दी हो ।

सिया मुस्लिम र सुन्नी मुस्लिमकाबीच धर्मगुरु मोहम्मदको उत्तराधिकारीलाई लिएर गम्भिर मतभेद छन् । जसले अहिले राजनीतिक, दार्शनिक र न्यायिक आयामहरुमा पनि आफ्नो जरा फैलाइसकेको छ ।

अहिले तत्काल यो दरार उत्पन्न हुनुको प्रमुख कारण चाँही कतारले ह्याकरहरुको माध्यमबाट उसको राष्ट्रिय समाचार समितिको वेबसाइट ह्याक भएको आरोप लगाउनु हो । ह्याक गरिएको भनिएको उक्त समाचारमा कतारका ‘अमिर’ ले अमेरिकाको इरानप्रतिको रबैयाको बिरोध गरेका थिए । र, ‘इरान यस क्षेत्रको स्थायित्वको लागि ठूलो शक्ति हा’ भन्ने उनको भनाई पनि उदृत गरिएको थियो ।

यो घटनाले कतार बिरुद्ध क्षेत्रीय प्रतिवादको लागि ‘चिंगारी’को काम ग¥यो, जसलाई कतारले ‘झुटको खेती’को संज्ञा दिएको छ ।

क—कसले तोडे कतारसँगको सम्बन्ध ?
बहराइन, साउदी अरब, युएइ र इजिप्टले समन्वय गरेरै कतारबाट आ—आफ्ना राजदुत फिर्ता बोलाएका छन् । येमन, माल्दिभ्स र लिबियाले पनि यही पदचाप पछ्याएका छन् । साउदी अरब, युएइ र बहराइनले आफ्ना देशमा रहेका सबै कतारी नागरिकहरुलाई देश छाड्न दुई हप्ताको ‘अल्टिमेटम’ दिएका छन् । तीनै मुलुकले आफ्ना नागरिकहरुलाई पनि कतार भम्रणमा रोक लगाएका छन् ।

कतारले आतंककारी संगठनहरुलाई सहयोग गर्छ ?
आतंककारी संगठन ‘आइएस’ बिरुद्ध अमेरिकी नेतृत्वको बहुराष्ट्रिय गठबन्धनको सदस्य राष्ट्र कतार पनि हो । इराकी सिहा नेताहरुले लगाउने गरेको जिहादी संगठनहरुलाई आर्थिक रुपमा सघाउँदैं आएको आरोप पनि कतारले अस्वीकार गर्दै आएको छ ।

सिरियाका बसार अल असादका बिरुद्ध लड्दै आएका केही ‘हार्डलाइनर’ इस्लामिक घटकहरुलाई भने कतार मात्र नभएर साउदी अरबले पनि पैसा र हतियार उपलब्ध गराउने गरेको आरोप लाग्ने गरेको छ ।

अलकायदा पनि जोडिएको जिहादी गठबन्धन हायात तहरिर अल शामसँगको सम्बन्ध भने कतारले अस्वीकार गर्दै आएको छ ।

अर्को सशस्त्र समूह अफगान तालिबानको भने कतारको राजधानी दोहामा सम्पर्क कार्यालय समेत छ ।

यो संकटको कस्तो प्रभाव पर्ला ?
समग्रमा भन्दा फल्आइट, फुड र फुटबल । अर्थात, हवाइ यातायात, खानपिन वा दैनिक उपभोग्य बस्तु र कतारले सन् २०२२ मा आयोजना गर्दै गरेको बिश्वकप फुटबलमा प्रभाव देखिने अनुमान गरिएको छ ।

अधिकांश एयरलाइन्सहरुले दोहा हुदैं उड्ने आफ्नो उडान रद्द गरेका छन् ।

कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजले आफ्ना छिमेकहरुमा गर्दे आएको दैनिक १ दर्जन उडान गर्न पाएको छैन । अन्य देशहरुको उडान पनि फरक रुटहरुबाट संचालन भैरहेको छ । छिमेकी देशहरुले आफ्नो आकाशमा उडान भर्न प्रतिबन्ध लगाएका कारण यस्तो भएको हो ।

कतारको करिब ४० प्रतिशत खाना साउदी अरबको सिमाना हुँदै आउने गरेको छ, जुन हाल बन्द छ । त्यसैले कतारका सुपरमार्केटहरुमा मानिसहरुको भिड लाग्न थालिसकेको छ, खानपिन र दैनिक उपभोग्य वस्तुको जोरजम्मा गर्न ।

अहिले कतारमा ठूलो भौतिक निमार्णको काम पनि भैरहेका छन् । ८ वटा ठूला रङ्गशालाहरु त सन् २०२२ को बिश्वकपको लागि मात्रै बन्दैछन् । साउदीले आफ्नो सिमा बन्द गरेपछि यस्ता आयोजनाका आवश्यक सामग्रीहरुको आपूर्तिमा ब्यवधान आइ आयोजनाहरु ढिलो हुन सक्छन् ।

आप्रबासी कामदारको अवस्था के छ ?
कतारमा बैदेशिक रोजगारीको लागि बिभिन्न देशहरुबाट लाखौं मानिसहरु गएका छन् । त्यसैकारण पछिल्लो दशकमा कतारको जनसंख्यामा भारी बृद्धि भएको छ । सन् २००३ मा ७ लाख जनसंख्या भएको कतारमा अहिले करिब २७ लाख मानिस बसोबास गर्छन् ।

यो कुटनीतिक संकटसँग सम्बन्ध नभएका देशका कामदारहरुलाई पनि यसबाट असर पर्ने संकेतहरु देखिन थालेका छन् ।

कतारमा ४ लाख नेपालीहरु रोजगारीको सिलसिलामा रहका अनुमान छ । यो कुटनीटिक दरारले ठूला गाडी चलाउने र गल्फ देशहरुबीच सामान ढुवानीको काम गर्ने नेपाली कामदाहरुलाई बढि प्रभाव पार्न सक्ने देखिन्छ ।

नेपालले आफ्ना कामदाहरुको अवस्थाका बारे चासो ब्यक्त गरेको छ । ‘हामीले कतार, साउदी, युएइ र इजिप्टमा रहेका दुतावासहरुमा सम्पर्क गरी नेपाली कामदारहरुको अवस्था बुझ्न निर्देशन दिएका छौं,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत राज पौडेल भन्छन् ।

करिब २ लाख कामदार भएको फिलिपिन्सले पनि संकट अझै गहिरिन सक्ने भन्दै आफ्ना नागरिकहरुलाई कतारमा काम गर्न जानबाट रोक्ने बताएको छ ।

कतारमा ठूलो संख्यामा इजिप्टिएन्सहरु पनि काम गर्छन् । कतारमा करिब १ लाख ८० हजार इजिप्टिएन्सहरु इन्जिनियरिङ, स्वास्थ्य, कानुन र निमार्णको क्षेत्रमा काम गर्छन् । यदि इजिप्टले आफ्ना नागरिकहरु कतार जान रोक लगायो भने त्यसले ठूलो प्रभाव पार्न सक्छ ।

यो सबैमा साउदी अरबको भूमिका कस्तो छ ?
बिश्लेषकहरुले कतारलाई ‘सबक सिकाउने’ कामको नेतृत्व कतारकै ठूलो र शक्क्तिशाली छिमेकी साउदी अरबले गरेको बताउँछन् ।

यी दुई देशको बर्षौंदेखि नै सौहार्दपूर्ण सम्बन्ध छैन । तर, जब सन् २०१३ मा यिनीहरुले इजिप्टमा भएको सैनिक ‘कु’ मा फरक फरक पक्षको साथ लिए तब सम्बन्ध झनै बिग्रियो ।

त्यसको लगत्तै साउदी अरब, बहराइन र युएईले आफ्नो मामलामा कतारले हस्तक्षेप गरेको भन्दै आ—आफ्ना राजदुतहरुलाई कतारबाट फिर्ता बोलाएका थिए ।

त्यसपछि कतार र साउदी अरबको सम्बन्धमा केही सुधार आउन थालेको पनि थियो । तर, पछिल्लो समय कतारका ‘अमिर’ ले इरानलाई रिझाउने टिप्पणी (जुन कतारले ह्करहरुको बदमाशी बताएको छ) ले रियादलाई केही चिंढ्याएको हुनसक्छ ।

साउदीले कतारसँगको सम्बन्ध तोड्नुको कारण उसको पूर्वी क्षेत्र र बहराइनमा कतारको इरानी आतंककारी समूहसँगको साँठगाँठ भएको बताएको छ । त्यहाँ सिहा बिद्रोहीहरु राजनीतिक अधिकार र भेदभाव अन्त्यको लागि भन्दै संघर्षरत छन् ।

साउदी अरबलाई कतारको बिरुद्ध लाग्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो भ्रमण र आतंकबाद बिरुद्ध एक हुनलाई उनले गरेको आग्रहले पनि केही प्रोत्साहन गरेको बिश्लेषकहरु बताउँछन् ।

ठूलो फिरौति रकमको यससँग के सम्बन्ध छ ?
कतारले इराकमा शिकार खेल्दै गर्दा अपहरणमा परेका आफ्ना राजपरिवारहरु छुटाउन फिरौतीको रुपमा खर्च गरेको १ अर्ब डलरले पनि उसका छिमेकीहरुलाई चिंढ्याएको बताइएको छ ।

फइनान्सियल टाइम्सका अनुसार फिरौती रकम अलकायदासँग सम्बन्धित सशस्त्र समूह र इरानी सुरक्षा अधिकारीहरुलाई बुझाइएको थियो ।

कुन कुन गल्फ राष्ट्रहरु यो बिवादमा संलग्न छैनन् ?
‘गल्फ कोअपरेसन काउन्सिल’ (जीसीसी) का ६ सदस्यीय राष्ट्रहरु मध्ये कुवेत र ओमान यो बिवादमा संलग्न छैनन् । कुवेतले यो बिवादमा मध्यस्थता गर्ने प्रस्ताव गरेको छ ।

अब के हुन सक्ला ?
अबको प्रश्न दोहाले आर्थिक समस्या र ब्यवधान समाधान गर्न आफ्ना नीतिहरु र ‘पोजिसन’ मा फेरबदल ल्याउला वा नल्याउला भन्ने हो ।

सन् २०१४ को कुटनीतिक दरार पनि कतारले अन्य जीसीसी राष्ट्रहरुको मामलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता गरेपछि टुङ्गिएको थियो । यसपाली पनि उसले अझै धेरै प्रतिबद्धताहरु ब्यक्त गर्न सक्छ ।

बिदेश मन्त्री शेख मोहम्मदले खुला र इमान्दार बार्ताको लागि आह्वान गरेका छन् ।

टर्की र इरानले पनि कुटनीतिक माध्यमबाटै यस समस्याको हल निकाल्न आह्वान गरेका छन् ।

विदेशी विभिन्न संचारमाध्यमको सहयोगमा


क्लिकमान्डु