सेयर धितो राखेर बैंकबाट ऋण पाउनै मुस्किल




काठमाडौं । आफूसँग भएको सेयर धितो राखेर बैंकबाट ऋण लिई समस्या टार्छु भनेर सोचिरहनु भएको छ ? यदि यस्तो सोच्नु भएको छ भने तपाईंलाई बैंकबाट ऋण पाउन निकै कठिन छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको कडाई र वितेका ८/९ महिनादेखि बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य रकम (तरलता) अभावका कारण बैंकहरुले सेयर धितोमा ऋण दिन मान्दैनन् ।

वितेका ५/६ महिनादेखि त बैंकहरुले सेयर धितोमा कर्जा ठप्पजस्तै पारेका छन् । बैंकहरुले सेयर धितोमा कर्जा विस्तार नगरेको राष्ट्र बैंकको तथ्यांकले पुष्टि गर्छ ।

राष्ट्र बैंकले बिहीबार सार्वजानिक गरेको देशको वर्तमान आर्थिक स्थिति अनुसार वितेका १० महिनामा बैंकहरुले सेयर धितोमा जम्मा १ अर्ब २० करोड रुपैयाँ मात्रै कर्जा विस्तार गरेका छन् ।

राष्ट्र बैंकका अनुसार ०७४ बैशाख मसान्तमा बैंकहरुले सेयर धितोमा ३८ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जबकी ०७३ असार मसान्तमा सेयर धितोमा बैंकहरुले ३७ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

त्यसअघिका महिनाहरुमा भने सेयर धितोमा बैंकहरुले उल्लेख्य मात्रामा कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकका अनुसार ०७३ बैशाखमा सेयर धितोमा बैंकहरुले ३२ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

०७३ को जेठ र असार महिनामा मात्रै बैंकहरुले सेयर धितोमा साढे ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, ०७३ असार यताका १० महिनामा बैंकहरुले जम्मा १ अर्ब २० करोड रुपैयाँ मात्रै सेयर धितोमा कर्जा प्रबाह गरेका हुन् ।


पुष्प दुलाल