व्यापार घाटा साढे ७ खर्बभन्दा बढी



काठमाडौं । बैशाख महिनासम्ममा नेपालमा ८ खर्ब रुपैयाँको बस्तु आयात भएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको १० महिनाको आर्थिक स्थिती अनुसार आयात ३४.९ प्रतिशतले बढेर ८ खर्ब ८ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

१० महिनाको अवधीमा ६१ अर्ब २ करोड रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्षको तुलनामा निर्यात ९.८ प्रतिशतले बढेको छ ।

अत्याधिक आयातको कारण व्यापारघाटा अघिल्लो वर्षको भन्दा ३७.५ प्रतिशतले बढेर ७ खर्ब ४७ अर्ब रुपैयाँको भएको छ ।

अत्याधिक आयात भएपनि मुल्यबृद्धि सरकारले निर्धारण गरेको लक्ष्यभन्दा कम भएको छ । राष्ट्र बैंकका अनुसार बैशाखसम्मममा ३.४ प्रतिशतले मुल्यबृद्धि भएको छ । अघिल्लो वर्ष मुल्यबृद्धि १० प्रतिशतले बढेको थियो ।

अघिल्लो बर्षको दश महिनामा १ खर्ब ३४ अर्ब ३० करोडले बचतमा रहेको चालू खाता विप्रेषण आप्रवाहको न्यून वृद्धि तथा उच्च आयातको कारण ७ अर्ब ५७ करोड रुपैयाँले घाटामा रहेको छ ।

त्यसैगरी, अघिल्लो वर्षको दश महिनासम्ममा १ खर्ब ६६ अर्ब रुपैयाँले बचतमा रहेको शोधानान्तर बचत यो वर्ष ५३ अर्ब ५४ करोडले मात्रा बचतमा रहेको छ ।

बैशाखसम्ममा पूँजीगत ट्रान्सफर ११ अर्ब ३० करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ११ अर्ब ६१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ११ अर्ब ५९
करोड र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो ।


क्लिकमान्डु