हावाहुरीबाट विद्यालयमा १९ लाखको क्षति, विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य



बाजुरा । एक महिनाअघि आएको हावाहुरीका कारण जिल्लाका १७ वटा विद्यालयमा ठूलो क्षति पुर्याएको जिल्ला शिक्षा कार्यालय बाजुराले जनाएको छ ।

हावाहुरीले विद्यालयका छाना उडाउनाका साथै रूख ढलेर क्षति पुगेको जिल्ला शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिएका छन्।

प्रहरी प्रतिवेदनअनुसार १७ वटै विद्यालयमा १८ लाख ८६ हजार ५ सय ५० रुपैयाँ बराबरको क्षति भएको छ ।

बजेडी आधारभूत विद्यालयमा ४ लाख ९७ हजार रुपैयाँ झाली प्राविमा ८६ हजार रुपैयाँ नवदुर्गा भवानीमा एक लाख ४ हजार २ सय ५० रुपैयाँ, त्रिशक्ति माविमा २ लाख रुपैयाँ, घटाल आधारभूत विद्यालयमा ९६ हजार रुपैयाँ , भवानी माविमा २५ हजार रुपैयाँ , ब्रह्मेश्वरी आधारभूत विद्यालयमा ५० हजार रुपैयाँ, त्रिभुवनेश्वरी माविमा एक लाख रुपैयाँ र ब्रह्मदेवस्थली प्राविमा ७० हजार रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको जिल्ला शिक्षा कार्यालय बाजुराका विद्यालय निरीक्षक उमेश रेग्मीले बताए ।

त्यसैगरी, पुर्भुता आधारभूत विद्यालयमा ६० हजार रुपैयाँ, भगवती प्राविमा एक लाख ४६ हजार ४ सय रुपैयाँ, मण्डाली प्राविमा २ लाख ३३ हजार ६ सय रुपैयाँ, जनता प्राविमा ३३ हजार ३ सय रुपैयाँ, त्रिपुरासुन्दरी माविमा एक लाख ५० हजार रुपैयाँ र जनप्रभात प्राविमा ३६ हजार रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको छ भने बागेश्वरी आधारभूत विद्यालयमा कुनै क्षति नभएको पाइएको छ । क्षति भएका सबै विद्यालयको विवरण जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुरा पठाइएको छ ।

क्षति भएकामध्ये रत्न मावि सेलिफालको विवरण भने दैवी प्रकोपमा पठाइएको छैन । हावाहुरीका कारण जिल्लाका विद्यालयको छाना उडाएपछि विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । रासस


पुष्प दुलाल