फस्नुहोला है, यी नम्बरका ५०० र १००० रुपैयाँका नोट नक्कली हुन् नि



काठमाडौं । पछिल्ला दिनहरुमा नक्कली नोट भेटिने क्रम बढिरहेको छ । देशभरका विभिन्न स्थानमा ५०० र १००० दरका नक्कली नोट भेटिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंक नोट निष्काशन र व्यवस्थापन गर्ने निकाय हो । नक्कली नोटको कारोबार गर्नु गंभीर अपराध भएको राष्ट्र बैंकले जनाएको छ ।

५०० दरका घ/२०७९९७४६, घ/२०६७९७४६, घ/६१४९३१२ र घ/९१४२५२६८ नम्बरका र १००० दरका घ/८३७५४००५, घ/६१४९३३४ र घ/२०४७६७९६ नम्बरका नक्कली नोट भेटिएको राष्ट्र बैंकले जनाएको छन् ।

यी नम्बरका नोट भेटेको खण्डमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ ।

त्यस्तै, कुनै नोट नक्कली भएको आशंका लागेमा नजिकको बैंक तथा वित्तीय संस्थाको कार्यालय तथा नेपाल राष्ट्र बैंकको कार्यालयमा सम्पर्क गरी त्यस्ता नोटको वास्तविकता यकिन गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।

कस्तो हुन्छ सक्कली नोट ?

-राष्ट्र बैंकका अनुसार सक्कली नोटको कागजको गुणस्तरीय स्तर हुन्छ, यस्तो नोट छाम्दा खस्रो र हल्लाउँदा कडकड आवाज आउने हुन्छ ।
-नोटको अग्र भागको दायाँतर्फ खाली ठाउँमा लालीगुराँस फुलको स्पष्ट पानी छाप हुन्छ ।

-नोटको बीच भागमा सुरक्षण धागो रहन्छ, यसमा सानो अक्षरमा NRB लेखिएको हुन्छ । सुरक्षण धागो कागजमै बुनिएको हुन्छ, माथिबाट टाँसेको हुँदैन ।

-नोटमा लेखिएका अक्षरहरुलाई सुरक्षण धागोले छोपेको/ढाकेको हुँदैन ।

-नोटको अग्र भागको बीचतिर NRB अक्षरको आधा र पृष्ठभागमा सोही एनआरबी अक्षरको आधा लेखिएको हुन्छ । उज्यालोमा हेर्दा सो दुबैतर्फको अक्षर जोडिई पूरै NRB अक्षर बनेको देखिन्छ ।

कुनैपनि नोटमा माथि उल्लेखेति कुराहरु छैनन् भने ती नोट नक्कली हुन भनेर बुझ्नुपर्ने हुन्छ । यसरी भेटिएका नक्कली नोट तपाईंले नजिकैको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई तत्कालै खबर गरी बुझाउनु पर्ने हुन्छ ।


पुष्प दुलाल