नयाँ प्रधानमन्त्रीलाई हरियो झण्डा देखाएको नेप्सेले अर्थमन्त्रीलाई किन देखायो रातो झण्डा ?



काठमाडौं । नयाँ प्रधानमन्त्री नियुक्त भएको दिन ३५ अंकले बढेको नेप्से नयाँ अर्थमन्त्री नियुक्त भएको दिन भने १४.२४ अंकले घटेर १६२३.१३ अंकमा आइपुगेको छ । कारोबारको शुरुवाती समयमा दोहोरो अंकले बढेको नेप्से बिचमा केही बढ्ने प्रयास गरे पनि अन्तत दोहोरो अंकले नै घट्यो ।

पहिला अर्थमन्त्री भैसकेका र अर्थशास्त्रको बिद्यार्थी समेत रहेका महेश आर्चायको चर्चा गरिए पनि अन्तत राजनीति शास्त्रका बिद्यार्थी एवं अर्थ मामलामा अनुभव नभएका ज्ञानेन्द्रबहादुर कार्कीलाई नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले अर्थमन्त्री बनाएका छन् ।

बुधबार १४९ कम्पनीका १२ लाख ७९ हजार कित्ता सयर किनबेच हुँदा ७६ करोड ४७ लाख रुपैंयाँको कारोबार भएको छ ।

उपसूचकहरुमा उत्पादन क्षेत्र ९.६९ अंकले बढेको छ भने अन्य सबै राताम्मे भएका छन् । बैंकिङ १२.८४, होटल ४०.३२, बिकास बैंक १८.२७, जलबिद्युत १९.१५, बित्त १.९५, बीमा ११५.७८ र अन्य ०.२९ अंकले घटेका छन् ।

स्ट्यान्डर्ड चार्डट बैंकको सबैभन्दा बढि ९ करोड ४१ लाख रुपैंयाँको कारोबार भएको छ । सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले ४ करोड ६३ लाख र २ करोड ४ लाख रुपैंयाँको कारोबारका साथ चार्टडलाई पछ्याएका छन् ।

बुधबार आरएसडिसि लघुबित्त र बल्र्ड मर्चेन्टका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् भने बिजया लघुबित्त र सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढि ६ प्रतिशत हाराहारीले गुमाएका छन् ।


पुष्प दुलाल