पुनर्निर्माण प्राधिकरणका सिइओ तथा उद्योगी ढकाल पुनर्निर्माण सम्मेलनमा सहभागी



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द राज पोखरेलले विश्व पुनर्निर्माण सम्मेलनलाई सम्बोधन गरेका छन् । मंगलबारबाट बेल्जियमको ब्रसेल्समा सुरु भएको सम्मेलनमा ‘नेपालमा भूकम्पपछिको पुनस्र्थापनाका प्रारम्भिक शिक्षा’ शीर्षकमा सम्बोधन गरेका हुन् ।

सम्मेलन यूरोपियन यूनियनको मुख्य आयोजना र यूरोपियन कमिसन, विश्व बैंकको ग्लोवल फ्यासलिटी फर डिजास्टर रिडक्शन एण्ड रिकभरी–जीएफडीआरआर र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम लगायतका विश्व संस्थाहरुको सहआयोजनामा भएको हो ।

विश्व बैंकको विपत्ति न्यूनीकरण तथा पुनस्र्थापनाका लागि विश्व संयन्त्र, युरोपेली युनियन, संयुक्त राष्टसंघीय विकास कार्यक्रम एवं अफ्रिकी, क्यारेवियन तथा प्रशान्त राष्ट्रहरुको समूहद्धारा संयुक्त रुपमा आयोजित सम्मेलनको मूल उद्देश्य विपत्तिपछिको पुनस्र्थापनामार्फत् बलियो संरचना निर्माणलाई प्रबद्र्धन गर्नु हो ।

आफ्नो सम्बोधनमा डा. पोखरेलले २०७२ बैशाखको भूकम्पपछिका दुई वर्षमा उद्दार तथा पुनस्र्थापनाका क्रममा भएका सकारात्मक प्रयास तथा कमीकमजोरीहरुलाई उजागर गरे । साथै, उनले दीगो र बलियो पुनस्र्थापनाका आवश्यकताहरुलाई पनि उल्लेख गरे ।

सम्मेलनलाई सम्वोधन गर्दै उनले तयारी, उद्दार तथा पुनस्र्थापनाका लागि राष्ट्रिय विपत्ति ब्यवस्थापन एजेन्सीको आवश्यकतामा जोड दिए ।
उनले नेपालको पुनर्निर्माणका विभिन्न ६ सेक्टरमा अझैपनि ३ खर्ब बढी रकम अपुग हुने देखिएकाले बिकास साझेदार संस्थाले यो अभियानलाई पुर्णता दिन आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए ।

यसैगरि सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्र प्रसाद ढकालले पनि सम्बोधन गरेका छन् । तत्काल राहतमा सहयोग गर्ने कार्यका अतिरिक्त निजी क्षेत्रले पुनरनिर्माणको कार्यमा समेत सरकारलाई सहयोग गरेको उनले जानकारी गराए । विभिन्न आन्तरिक कारणबाट पुनरनिर्माण कार्य संतोषजनक रुपमा अगाडी बढ्न नसकेको यथार्थता अवगत गराउँदै उनले निकै लामोसमयपछि सम्पन्न स्थानीय निकायको निर्वाचन पश्चात अव पुनरनिर्माणको कार्यले गतिलिने विश्वास समेत दिलाए ।

उपाध्यक्ष ढकालले भुकम्प पश्चात सम्पन्न वृहद सम्मेलनका क्रममा पुनरनिर्माणमा वाह्य समुदायबाट आएको प्रतिवद्धताबाट निजी क्षेत्र उत्साहित भएको समेत बताए ।

सम्मेलन बिहीबारसम्म चल्नेछ ।


क्लिकमान्डु