अन्ततः एनसेलले सरकारलार्इ तिर्यो १३ अर्ब ६० करोड पूँजीगत लाभकर



काठमाडौं । निजी दूरसंचार प्रदायक संस्था एनसेलले कर तिरेको छ । एनसेलले आज ठूला करदाता कार्यालयमा कर १३ अर्ब ६० करोड ४७ लाख ९१ हजार ७ सय ११ रुपैयाँ पूँजीगत लाभकर बापत तिरेको हो।अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुख बिष्णु नेपालले आज एनसेलले कर तिरेको जानकारी दिए।

‘एनसेलले आज १३ अर्ब ६० करोड कर तिरेको जानकारी ठूला करदाता कार्यालयका प्रमुखले मलाई जानकारी दिनुभयो, अब एनसेलले कति तिर्न बाँकी छ, कहिले तिर्छ वा यो नै पुरा हो भन्ने यकिन ठूला करदाता कार्यालयले नै गर्छ,’ महाशाखा प्रमुख नेपालले क्लिकमाण्डुसँग भने ।

सरकारलाई तिनुपर्ने २५ प्रतिशत पूँजीगत लाभ कर बापतको रकम तिनुपर्ने आधारमा नै एनसेलले रकम कार्यालयमा दाखिला गरेको हो ।

ठूला करदाता कार्यालयले पूर्व अर्थसचिव विद्याधर मल्लिक, पूर्व मुख्य सचिव तिर्थमान शाक्य र चार्टर्ड एकाउन्टेन्ट शिव शर्मा विज्ञका रुपमा एनसेलले राज्यलाई दाखिला गर्नुपर्ने पूँजीगत लाभकर बारे राय लिएको थियो । विज्ञहरुले एनसेलबाट ३५ अर्ब रुपैयाँ पूँजीगत लाभकर लिनुपर्ने सुझाव दिएका थिए ।

यता आन्तरिक राजस्व विभागका उपमहानिर्देशक चन्द्रकला पौडेलले एनसेलले कर तिर्दैछ भन्ने अनौपचारिक जानकारी केहि दिन पहिला नै आएको र आज कर तिरेको जानकारी दिईन् ।

‘केहि दिनअगाडि देखि नै एनसेलले कर तिर्दैछ भन्ने सुनिएको थियो, आज ठूला करदातामा लगेर बुझायो,’ उनले भनिन् ।

एनसेलले यसअघि २०१६ मे ७ तारीखमा पूँजीगत लाभकर बापत ९ अर्ब ९७ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ सरकारलाई तिरेको थियो । एनसेलले पटक पटक कर तिर्नु नपर्ने भन्दै पूँजीगत लाभकर बापतको रकम तिर्न आनाकानी गर्दै आएको थियो ।

गत पुसमा स्विडिस कम्पनी टेलियाले मलेशियन कम्पनी आजिआटालाई एनसेल १ खर्ब ४० अर्ब रुपैयाँमा बिक्री गरेको थियो । तर सो बिक्री बापतको पूँजीगत लाभकर तिनुपर्नेमा नेपाल भित्रै कारोबार नभएको भन्दै टेलियाले तिर्न नपर्ने अडान राख्दै आएको थियो ।

लामो समयदेखि बिवादमा रहेको एनसेलले कर तिर्ने वा तिर्न नपर्ने विषय अब करिब करिब टुंगोमा पुग्ने भएको छ ।


क्लिकमान्डु