अब बैंकबाटै हुन्छ तपाईंको बीमा




काठमाडौं । अब तपाईंले बैंकबाटै बीमा गराउन पाउनु हुने भएको छ । बीमा समितिले बैंकबाटै बीमा गर्ने व्यवस्था मिलाउन गृहकार्य थालेको छ ।

बैंकास्यूरेन्स नीति मार्फत् बीमा समितिले बैंकबाटै बीमा सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन लागेको बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले बताए ।

‘हामी अब बैंकको प्रत्येक शाखाबाट बीमाको सेवा लिन पाइने व्यवस्था मिलाउने तयारी थालेका छौं,’ अध्यक्ष चापागाईंले क्लिकमाण्डूसँग भने,– ‘यस विषयमा बीमा समितिले केही गृहकार्य गरिसकेको छ । चाँडै नै यस्तो व्यवस्था मिलाइनेछ ।’

यस्तो व्यवस्था मिलाउनका लागि नेपाल राष्ट्र बैंकसँग अनौपचारिक छलफल भएको र अब छिट्टै औपचारिक छलफल हुने उनले जानकारी दिए ।

‘राष्ट्र बैंक र बीमा समितिबीच बैंकास्यूरेन्स गर्ने सम्झौता हुनेछ । बैंकका प्रत्येक शाखामा बीमा कम्पनीको डेस्क र कर्मचारी राखेर बैंकमा आउने ग्राहकलाई बीमाको सुविधा उपलब्ध गराइने छ,’ चापागाईंले भने ।

बढीभन्दा बढी नेपालीहरुलाई बीमाको दायराभित्र ल्याउन बैंकोस्यूरेन्स नीति ल्याउने गृहकार्य थालिएको उनको भनाई थियो । हाल ६/७ प्रतिशत नेपालीमात्रै बीमाको दायराभित्र छन् ।

यो कोर्यक्रम लागू भएपछि बैंकमा कारोबार गर्ने व्यक्तिले बैंकबाटै बीमाको पोलिसी पनि लिन सक्नेछन् ।

‘बीमाको दायरा बढाउनु मेरो मुख्य उद्देश्य हो, बैंकास्यूरेन्सले बीमालाई सहज बनाउँछ, जसले बीमाको दायरा बढाउन मद्दत गर्छ,’ उनले भने ।

आफू बीमा क्षेत्रमा केही नयाँ काम गर्न आएको अध्यक्ष चापागाईंले बताए ।

‘सेवा र सुविधाका हिसाबले बीमा समितिको अध्यक्षभन्दा राष्ट्र बैंककै जागिर राम्रो थियो,’ उनले भने,- ‘बीमा क्षेत्रलाई माथि पुर्याउनुपर्छ भनेर म यहाँ आएको हुँ ।’

बीमाको पहुँच विस्तार गर्न र नयाँ रोजगारी सिर्जना गर्न आफूले बीमा कम्पनीहरुलाई लाइसेन्स दिएको उनको भनाई थियो ।

अहिले पनि केही बैंक र बीमा कम्पनीहरुले सम्झौता गरेर बैंकास्यूरेन्स कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यो कार्यक्रमलाई व्यवस्थित, फराकिलो र सिस्टमबाट लागू गर्न गृहकार्य थालिएको हो ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बीमा समितिले अहिलेसम्म औपचारिकरुपमा बैंकास्यूरेन्स कार्यक्रम सञ्चालन गर्ने प्रस्ताब नगरेको जानकारी दिए । तर, यो प्रस्ताब आए राष्ट्र बैंकले सक्दो सहयोग गर्ने उनले बताए ।

‘अहिलेसम्म बीमा समितिले बैंकास्यूरेन्स सञ्चालन गर्ने औपचारिक प्रस्ताब गरेको छैन, समितिको यो सोच निकै सकरात्मक छ,’ प्रवक्ता पौडेलले भने- ‘यो सोचमा हामी सहकार्य गरेर अघि बढ्न सक्छौं ।’

 


पुष्प दुलाल