एभरेष्ट बैंक र वेस्ट रेमिटबीच रेमिट्यान्स भुक्तानीका लागि सहकार्य



काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र वेस्ट रेमिटबिच एभरेष्ट रेमिटमार्फत आएको रकम भुक्तानी गर्ने कार्य सम्बन्धि सम्झौता भएकोछ । हाल बैंकले आफ्नै अनलाइन रेमिट्यान्स सेवा एभरेष्ट रेमिटमार्फत सेवा प्रदान गरिरहेको छ।

शुरुवातमा, यो सुविधा यू.ए.ई, कतार, बहराइन, ओमन, मलेसिया, बेलायत, अमेरिका, जापान र कोरियामा कार्यरत नेपालीहरुका लागि उपलब्ध गराएको थियो जुन आगामी दिनहरुमा अन्य देशहरुमा पनि बिस्तार गरिनेछ । नेपाल भित्रने रेमिट्यान्स तथा वैदेशिक व्यापार सहज बनाउनलाई बैंकले विभिन्न देशहरुका बैंक/एजेन्सीहरुसँग सहकार्य गर्दै आएको जनाएको छ।

त्यसैगरि, बैंकले इजी रेमिट, एक्सप्रेस मनि ट्रान्सफर, मनिग्राम, वेस्टर्न यूनियन मनि ट्रान्सफर, तथा क्यास एक्सप्रेससँग तत्काल रकम भुक्तानीका लागि यस अघि नै सम्झौता गरीसकेको छ जसले बैंकलाई विश्वभरबाट आउने रेमिट्यान्स रकम भित्र्याउन सहज भएकोछ।

बैंकले हाल आफ्ना ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८८ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ। साथै, एभरेष्ट बैंक भारतमा आफ्नै प्रतिनिधि कार्यालय भएको पहिलो नेपाली बैंक भएको बैंकको दाबी छ।


क्लिकमान्डु