सनराइजको हकप्रद सेयर आजदेखि, हकप्रद असार १९ गतेसम्म रहने



काठमाडौं । सनराइज बैंकले आज (जेठ १६) बाट ३० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । बैंकले हालको चुक्ता पूँजीको ३० प्रतिशतको हिसाबले १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रदमा आगामी असार १९ गतेसम्म आवेदन दिन पाइनेछ ।

बैंकले हकप्रदको लागि गत बैशाख ३० गते बुकक्लोज मिति घोषणा गरेको थियो । साबिक सेयरधनीका अलावा बैशाख २८ गतेसम्म सेयर खरिद गरेका सेयरधनीहरुले हकप्रदमा आवेदन दिन पाउनेछन् । हकप्रदको ब्यवस्थापन प्रभु क्यापिटलले गर्दैछ ।

३० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पूँजी हालको ५ अर्ब ४५ करोडबाट ७.०८ अर्ब पुग्नेछ ।

इच्छुक सेयरधनीले प्रभु क्यापिटल र सनराइज बैंकका सबै शाखाहरुबाट हकप्रदमा आवेदन दिन सक्नेछन् ।

बैंकको चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ८५ करोड ७९ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । बैंकले राष्ट्र बैंकले तोके बमोजिम ८ अर्ब रुपैंयाँ पूँजी पुर्याउन अझै १२.८५ प्रतिशतले पूँजी बढाउनुपर्नेछ ।


क्लिकमान्डु