एक बर्षमा १० हजारले बढ्यो नेपालीको आम्दानी




काठमाडौं । एकवर्षमा नेपालीको वार्षिक आम्दानी १० हजार ७ सय १० रुपैयाँले बढेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका संसद्मा पेश गरेको आर्थिक वर्ष २०७३/७४ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको प्रतिव्यक्ति वार्षिक आम्दानी ८ सय ६२ अमेरिकी डलर रहेको छ ।

अघिल्लो वर्ष नेपालीको वार्षिक आम्दानी ७ सय ५७ अमेरिकी डलर रहेको थियो ।

आर्थिक सर्वेक्षण अनुसार नेपालीको आम्दानी एक वर्षमा एक सय ५ अमेरिकी डलरले बढेको हो । आर्थिक क्रियाकलाप बढेको कारण नेपालीको आम्दानीमा बृद्धि भएको हो ।

आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ६.९४ प्रतिशत हुने भएको छ । अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीको कारण आर्थिक बृद्धिदर ०.१ प्रतिशत थियो ।

यो वर्ष कृषि क्षेत्रमा ५.३२ प्रतिशत,उद्योग १०.९७ प्रतिशतले र सेवा ६.९ प्रतिशतले बृद्धि भएको छ ।

कुल ग्राहस्थ्य उत्पादन(जिडिपी)मा कृषि क्षेत्रको योगदान २९.३७ प्रतिशत रहेको छ । यस्तै गैर कृषि क्षेत्रको योगदान ७०.६३ प्रतिशत रहेको छ । पछिल्लो १५ वर्षमा जिडिपीमा कृषि क्षेत्रको योगदान घट्दै गएको देखिन्छ ।

गैर कृषि क्षेत्र अन्तर्गत उद्योग क्षेत्रको योगदान १४ प्रतिशत रहेको छ भने सेवा क्षेत्रको योगदान ५६ प्रतिशतमा पुगेको छ ।


क्लिकमान्डु