अर्बपति चौधरीका छोरालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई



काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका चर्चित उद्यमी विनोद चौधरीका कनिष्ठ सुपुत्र वरुण चौधरीलाई शुभविवाहको उपलक्ष्यमा बधाई एवं शुभकामना ब्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र उनकी धर्मपत्नी सारिका चौधरीलाई लिखित सन्देश पठाउदै नवदम्पतीलाई बधाई दिएका हुन् ।

नेपालका एक मात्र डलर अर्बपति विनोदका सुपुत्र वरुणको राजस्थान, भारतका प्रसिद्ध उद्यमी राजकुमार टोङ्ग्याकी सुपुत्री अनुश्रीबीच गत वैशाख १५ गते विवाह सम्पन्न भएको थियो ।

राजस्थानको सुन्दर पर्यटकीय नगरी उदयपुरमा आयोजना गरिएको उक्त शुभविवाह कार्यक्रममा श्रीलंकाका राष्ट्रपति, मन्त्रीहरु, भारतका उच्च पदस्थ राजनीतिज्ञहरुको सहभागिता रहेको थियो ।

वैवाहिक कार्यक्रममा सलमान खान, शत्रुघ्न सिन्हा लगायत वलिउडका प्रख्यात कलाकारहरुको पनि सहभागिता थियो । उक्त अवसरमा नेपालका राजनीतिज्ञ, उद्यमी, व्यवसायीहरुको पनि सहभागिता थियो ।

तीन दिनसम्म चलेको उक्त वैवाहिक कार्यक्रमलाई भारतीय मिडियाले ‘राजकीय विवाह’को संज्ञा दिएका थिए ।

आफ्ना कनिष्ठ सुपुत्र वरुणको शुभविवाहको अवसरमा अर्बपति चौधरीले काठमाडौंको सोल्टी होटलमा भब्य कार्यक्रमसहित जेठ ५ र ६ गते दुई दिन पार्टीको आयोजना गर्दैछन् ।

उक्त पार्टीमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्रीहरु, पूर्व राजा ज्ञानेन्द्र शाह, राजनीतिक दलका नेताहरु, सरकारका उच्च पदस्थ अधिकारीहरु, पत्रकार, नागरिक समाज, उद्यमी व्यवसायीहरु, नेपालस्थित कुटनीतिक नियोगका अधिकारीहरु र विशिष्ठ भारतीय राजनीतिज्ञहरुलाई निमन्त्रणा दिइएको थाहा भएको छ ।

अहिले पार्टीस्थललाई अन्तर्राष्ट्रियस्तरको सजावट गर्ने काम शुरु भइसकेको छ ।


पुष्प दुलाल