मन्त्रीकी बहिनीलाई जागिर दिएपछि साझाका प्रमुखले पाए यस्तो गर्ने छुट



काठमाडौं । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्माले आफूखुसी कर्मचारी भर्ना गरेका छन् । साझामा ७६ जना स्थायी कर्मचारी भएपनि शर्माले आफू निकटका ५५ जना नयाँ कर्मचारी करारमा भर्ना गरी मनपरी गरेका हुन् ।

अध्यक्ष तथा महाप्रबन्धक शर्माले शिक्षामन्त्री धनिराम पौडेललाई खुसी पार्न उनकी बहिनीलाई पनि साझामा जागिर दिएका छन् । शर्माले मन्त्री पौडेलकी बहिनी गीतादेबी पौडेललाई गत चैत १ गतेदेखि लागू हुनेगरी साझाको प्रशासन विभागमा जागिर दिएका स्रोतले जानकारी दिएको छ ।

गीतादेबीलाई मन्त्रीकी बहिनीभन्दा पनि योग्यता र क्षमताको आधारमा काममा लगाइएको अध्यक्ष तथा महाप्रबन्धक शर्माले दाबी गरे ।

‘कसैको बहिनी वा श्रीमती भएकै कारण उहाँले काम गर्न नपाउने भन्ने हुँदैन, एमएसम्म पढ्नु भएको छ, योग्य हुनुहुन्छ, साझालाई थप काम गर्न कर्मचारी चाहिएको थियो, यसैले उहाँलाई राखिएको हो,’ शर्माले क्लिकमाण्डूसँग भने ।

शर्माले करार आफ्ना मान्छे राखेर स्थायी कर्मचारी हुँदाहुँदै पनि करारका कर्मचारीलाई विभागीय प्रमुखको जिम्मेवारी समेत दिएका छन् ।

गत फागुन २ गतेदेखि करारमा राखिएका डाइलगबाबु हमाललाई साझाको शैक्षिक विकास महाशाखा (परियोजना) प्रमुख बनाइएको छ । करारमा लिदा नै उनलाई सो विभागको प्रमुखको जिम्मेवारी दिने करार गरिएको छ ।

साझामा अर्काे रोचक तथ्य पनि फेला परेको छ । साझाको प्रशासन विभागको प्रमुख पनि करारकै कर्मचारी छन् । रोल्पाका रत्नज्योति हमाललाई प्रशासन विभागको जिम्मेवारी बहन गर्ने गरी गत बैशाख ११ गतेदेखि करारमा भर्ना गरिएको छ ।

यस्तै साझाको धरान शाखा प्रमुख पनि करारकै कर्मचारीलाई बनाइएको छ । सल्यानका टेकबहादुर चन्दलाई साझाको धरान शाखा प्रमुखको रुपमा काम गर्नेगरी गत फागुन १८ गतेदेखि करारमा भर्ना गरिएको हो ।

क्लिकमाण्डूलाई प्राप्त प्रमाण अनुसार साझाको बुटबल शाखा प्रमुखको जिम्मेवारी पनि करारकै कर्मचारीलाई दिइएको छ । बुटबल शाखा प्रमुखको जिम्मेवारी बहन गर्ने गरी साझाले गणेशबहादुर बोहोरालाई गत फागुन १८ गतेदेखि करारमा भर्ना गरेको छ ।

साझामा अर्काे रोचक तथ्य पनि फेला परेको छ । साझाको प्रशासन विभागको प्रमुख पनि करारकै कर्मचारी छन् । रोल्पाका रत्नज्योति हमाललाई प्रशासन विभागको जिम्मेवारी बहन गर्ने गरी गत बैशाख ११ गतेदेखि करारमा भर्ना गरिएको छ ।

साझाको छापाखाना विभागको प्रमुख पनि करारकै कर्मचारीलाई बनाइएको छ । सिन्धुपाल्चोकका विकास अधिकारीलाई साझा प्रकाशन छापाखान विभाग प्रमुखको जिम्मेवारी बहन गर्ने गरी गत चैत १ गतेदेखि करारमा भर्ना गरिएको छ ।

अध्यक्ष तथा महाप्रबन्धक शर्माले अर्काे महत्वपूर्ण विभाग लेखामा पनि आफ्ना कर्मचारी करारमा राखेर काम गराएका छन् । लेखा शाखामा काम गर्ने गरी दोलखाकी निर्मला खड्कालाई गत बैशाख ११ गतेदेखि करारमा भर्ना गरिएको छ ।

लेखा जस्तै महत्वपूर्ण मानिने खरिद शाखामा पनि करारका कर्मचारी भर्ना गरिएको छ । महाप्रबन्ध शर्माले गत चैत १ गतेदेखि लागू हुनेगरी दीपेश शाहीलाई करारमा भर्ना गरेका हुन् ।


क्लिकमान्डु