किया गाडीले भारतमा एक खर्ब लगानीमा प्लान्ट लगाउने



नयाँ दिल्ली । दक्षिण कोरियाको गाडी निर्माता कम्पनी कियाले भारतमा एक खर्ब लगानीमा प्लान्ट लगाउने भएको छ । कम्पनीले १.१ अर्ब अमेरिकी डलरको लगानीमा भारतको आन्द्र प्रदेशमा नयाँ प्लान्ट लगाउन लागेको हो ।

‘यसको निर्माणको काम यो वर्षदेखि सुरु भइसकेको छ,सन् २०१९ भित्र उत्पादन सुरु हुन्छ’,किया मोटरका अध्यक्ष हान वु पार्कले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ भारतमा बन्न लागेको प्लान्टबाट वार्षिक रुपमा ३ लाख कारको उत्पादन हुने छ।’

कियाको बजार पहुँच अहिले एक सय ६० देशमा पुगेको छ । नयाँ प्लान्टले सेडान र एसियुभीको भारतीय बजारलाई प्राथमिकता दिने छ ।

गतवर्ष भारतीय बजारमा ३० लाख गाडी बिक्री भएका छन् । जुन अघिल्लो वर्षको भन्दा १० प्रतिशत बढी हो । गाडी निर्माता कम्पनीको लागि भारत पछिल्लो समय दक्षिण एशियाको केन्द्रबिन्दु बन्दै आएको छ । सन् २०२० सम्ममा विश्वको तेस्रो ठूलो गाडीको बजार भारत बन्दै छ ।

भारतमा किया गाडीको उत्पादन भएपछि नेपालमा पनि यसको मुल्य भने सस्तो हुन्छ । अहिले किया गाडी थाइल्याण्डमा उत्पादन भएर नेपाली बजारमा आउने गर्छ । जसले किया गाडी मुल्य केही महंगो छ ।


क्लिकमान्डु