कारोबारको अन्तिम दिन झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि



काठमाडौं । बिहिबार नेप्से ०.३२ को झिनो अंकले बढेको छ । लगातार तीन दिन सामान्य अंकले घटेको नेप्से कारोबारको अन्तिम दिन झिनो अंकले बढेर १६७०.६२ अंकमा पुगेको हो ।

अघिल्लो हप्ता भएको राजनीतिक सहमतिपछि झण्डै ३६ अंकले बढेको नेप्से त्यसपछि भने शिथिल भएको छ । बजारमा खासै ठूलो उतारचढाव देखिएको छैन । कारोबार भने बुधबार भन्दा केही बढेर १ अर्ब ८ करोड रुपैंयाँ पुगेको छ ।

नेप्से झिनो अंकले बढ्दा पनि ५ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । एनबि इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, प्रोग्रेसिभ फाइनान्स, सप्तकोशी बिकास बैंक र ललितपुर फाइनान्सको सेयर मुल्य १० प्रतिशतले बढेको हो ।

यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा गुहेश्वरी मर्चेन्ट, बरुण हाइड्रो र कन्काइ बिकास बैंकका लगानीकर्ताले भने क्रमशः ४.४२, ३.४४ र ३.०८ प्रतिशतले गुमाएका छन् ।

उप—सूचकहरुमा बैंकिङ ५.७९ अंकले घटेको छ । बजारमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने बैकिङ समुह घटेका कारण अरु उप—सूचकहरु बढे पनि नेप्सेले ठूलो अंकले बढ्न सकेन ।

होटल ६६.५३, बिकास बैंक ६.०५, जलबिद्युत १४.७६, बित्त ६.२८, बीमा ६९.८ अंकले बढेका छन् । ‘अन्य’ समूह भने ४.९१ अंकले घटेको छ ।

बिहिबार सबैभन्दा बढि कारोबार हुने ५ कम्पनीमा ४ वटा बीमा कम्पनी रहेका छन् । सिद्धार्थ इन्स्योरेन्सको ५ करोड ८२ लाख, नेपाल लाइफको ५ करोड, राष्ट्रिय बीमा कम्पनीको ४ करोड ८८ लाख, प्रभु बैंकको ४ करोड २० लाख र सूर्यलाइफको ४ करोड ९ लाख रुपैंयाँको कारोबार भएको छ ।


क्लिकमान्डु