एनबी ग्रुपले हकप्रद भर्न नपाउने भएपछि रोकियो एनसीसीको विशेष साधारणसभा




काठमाडौं । एनसीसी बैंकको विशेष साधारणसभा रोकिएको छ । कम्पनी रजिस्टार कार्यालयको आदेशमा बिशेष साधारणसभा रोकिएको हो ।

नियमित साधारणसभा नभएको तर पटक पटक बिशेष साधारणसभाको लागि मात्रै स्वीकृति मागिएकोले अनुमति नदिइएको कम्पनी रजिष्टार कार्यालयका रजिस्टार प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।

‘आर्थिक बर्ष २०७२/७३ को बार्षिक साधारणसभा गत पुस मसान्त अगाडि नै गरिसक्नु पर्ने थियो, तर नियमित साधारणसभा नगरेर यसअघि पनि बिशेष साधारणसभा नै गरिएको थियो, अहिले फेरि बिशेष साधारणसभाको स्वीकृति मागिएकोले जतिसक्दो चाढो नियमित साधारणसभा गर्न निर्देशन दिएका छौं, बिशेष साधारणसभा गर्न अनुमति दिइएन,’ रजिष्टार श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

बैंकले बैशाख १५ गते बिशेष साधारणसभा गर्नको लागि अनुमति मागेको थियो । बिशेष साधारणसभाको लागि राष्ट्र बैंकले स्वीकृति दिइसकेको थियो । कम्पनी रजिष्टारको कार्यालयले हिजो (बैशाख १३ गते) बिशेष साधारणसभा गर्न नमिल्ने जानकारी बैंकलाई गराएको थियो ।

नियमित साधारणसभा नगराइ बिशेष गराउन मिल्दैन भन्दै कम्पनी रजिष्टारको कार्यालयमा उजुरी पनि परेको थियो । कार्यालयमा प्राप्त उजुरीको छानबिन गर्दा बिशेष साधारणसभा गर्न नमिल्ने देखिएकोले यस्तो निर्देशन दिइएको रजिष्टार श्रेष्ठले जानकारी दिए ।

यस्तो छ मूल कारण
स्रोतले दिएको जानकारी अनुसार एनसीसीको बिषेश साधारणसभा रोकिनुको मूल कारण भने अर्कै छ । एनसीसीको प्रमोटर एनबी ग्रुप सम्बद्ध प्रमोटर तथा सेयरधनीको दबाबको कारण बिशेष साधारणसभा रोकिएको हो ।

बैंकको बिशेष साधारणसभाले ५० प्रतिशत हकप्रद दिने प्रस्ताव पास गर्ने कार्यसुची थियो । सोही कार्यसुचीको कारण बैंकको विशेष साधारणसभा रोकिएको स्रोतको दाबी छ ।

एनसीसीमा अझै पनि करिब १२ प्रतिशत सेयर एनबी ग्रुपको छ । सो ग्रुप विभिन्न बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेको कारण कालोसुचीमा छ । बैंक तथा वित्तीय संस्थाको कालोसुचीमा परेको ब्यक्ति वा फर्मले बैंक तथा वित्तीय संस्थाको हकप्रद सेयर खरिद गर्न पाइदैन ।

एनबी ग्रुप कालोसुचीबाट हट्ने अन्तिम तयारीमा रहेको स्रोतले जानकारी दियो ।

‘एनबी ग्रुपको १२ प्रतिशत सेयर छ, त्यो ग्रुप कालोसुचीबाट हट्ने अन्तिम तयारीमा छ, कालोसुचीमा परेकोले हकप्रद भर्न नपाइने हुँदा समय कटाउन यस्तो गरिएको हुन सक्छ,’ स्रोतले क्लिकमाण्डूसँग भन्यो ।


क्लिकमान्डु