खराब कर्जा उठाउदा प्रभुले गर्यो नाफामा चमत्कार



काठमाडौं । प्रभु बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा पनि आफ्नो बृद्धिलाई कायमै राखेको छ । किष्ट बैंक र ग्रान्ड बैंकको प्राप्ती पश्चात ठूलो मात्रामा खराब कर्जाको भारी बोकेको प्रभुले तेस्रो त्रैमासम्म १ अर्ब ४० करोड रुपैंयाँ खराब कर्जा उठाएको छ ।

अपरिष्कृत वित्तीय बिवरणका अनुसार बैंकले १ अर्ब ४४ करोड रुपैंयाँ खुद नाफा कमाएको छ । गत बर्ष सोही समयमा बैंकको नाफा ७५ करोड ७८ लाख रुपैंयाँ मात्र थियो । बैंकले संचालन नाफा पनि ५२ करोड ६३ लाखबाट १ अर्ब १७ करोड रुपैंयाँ पुर्याएको छ ।

बैंकले ७१ अर्ब ६० करोड रुपैंयाँ निक्षेप संकलन गरेको छ भने ५९ अर्ब ५९ करोड रुपैंयाँ कर्जा प्रवाह गरेको छ । गत बर्ष बैंकको निक्षेप ५४ अर्ब ५४ करोड र कर्जा प्रवाह ४४ अर्ब ३५ करोड रुपैंयाँ थियो ।
बैंकले ठूलो समस्यामा रहेको अत्याधिक खराब कर्जालाई पनि घटाउँदै लगेको छ । गत बर्षको १०.०४ प्रतिशतबाट घटेर खराब कर्जा ४.३२ प्रतिशतमा झरेको छ ।

बैंकले प्रति सेयर आम्दानीमा छलाङ मारेको छ । गत बर्ष १९.२८ रुपैंयाँ रहेको प्रति सेयर आम्दानी यस बर्ष ३२.७८ रुपैंयाँ पुगेको छ । मुल्य आम्दानी अनुपात भने १७.४५ रहेको छ । सामान्यतः मुल्य आम्दानी अनुपात जति कम भयो लगानीको लागि त्यती आकर्षक मानिन्छ ।

चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैंयाँ रहेको प्रभुले राष्ट्र बैंकले तोकेबमोजिम ८ अर्ब पुँजी पुर्याउन ४० प्रतिशत हकप्रद जारी गर्दैछ । हकप्रद पछि बैंकको पूँजी ८ अर्ब २२ करोड रुपैंयाँ पुग्नेछ ।


क्लिकमान्डु