राजनीतिक सहमतिले उकालो चढ्यो नेप्से परिसूचक




काठमाडौं । सरकारले मधेशी मोर्चासँग संबिधान संशोधनका साथै दुई चरणमा चुनाव गर्ने बिषयमा सहमति गरेसँगै नेप्से परिसूचक ३५.३८ अंकले बढेर १६९३.७२ बिन्दुमा पुगेको छ ।

कारोबार शुरु हुने बित्तिकै नेप्सेमा उछाल आएको थियो । कारोबार शुरु भएको १० मिनेटमै नेप्से परिसूचक ३ प्रतिशतले बढ्दा सर्किट ब्रेक समेत लागेको थियो । झण्डै ६२ अंकले बढेको नेप्से अन्तत थोरै सम्हालिंदै ३५ अंकले बढ्दा १ अर्ब ५३ करोड रुपैंयाँको कारोबार भएको छ ।

राजनीतिमा देखिएको सकारात्मक परिदृश्य पक्कै पनि लगानीकर्तालाई हौसाउने खालकै छ । राजनीतिको लगानीकर्ताको मनोबलसँग सम्बन्ध हुने हूँदा राजनीति र सेयर बजारको निकै नजिकको सम्बन्ध हुन्छ । यद्यपी सचेत लगानीकर्ताले राजनीतिसँगै आफुले खरिद बिक्रि गर्ने कम्पनीको बित्तिय बिवरणमा पनि धेरै ध्यान दिनुपर्ने हुन्छ ।

अहिले कम्पनीहरुले तेस्रो त्रैमासको बिवरण धमाधम प्रकाशित गर्दै गरेको समयमा त्यसको राम्रोसँग अध्ययन गरि लगानीको रणनीति बनाउने राम्रो अवसर छ । तेस्रो त्रैमासको बिवरणले सामान्यतः आगामी बर्ष कम्पनीले दिने प्रतिफलको आंकलन गर्न सकिन्छ ।

आजको बजार हेर्दा लगानीकर्ताले ध्यान दिनुपर्ने अर्को पाटो पनि छ । सेयर किन्न वा बेच्न बजार पस्दा आजै जसरी पनि किन्ने र अहिल्यै जसरी पनि बेच्ने जस्तो प्रबृती देखाउनु हुँदैन । बजारले सेयर किन्ने र बेच्ने उपयुक्त अवसर सँधै दिइनैरहन्छ । आजैको उदाहरण लिने हो भने पनि नेप्से परिसूचक ६० अंक बढ्दा ज—जसले सेयर किने, उनीहरुको त्यसको केही घण्टा पछि त्यही सेयर धेरै सस्तोमा किन्न पाउने थिए ।

आइतबार सबै उपसूचकहरुमा हरियाली छाएको छ । बैंकिङ ३१.३७, होटल २.२, बिकास बैंक ३०.१९, जलबिद्युत २६.१२, बित्त १४.९९, बीमा ३१८.९३, उत्पादन ३५.४२ र अन्य १०.४१ अंकले बढेका छन् ।
आइतबार सबैभन्दा बढि प्रभु बैंकको ७ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । यसैगरी सिद्धार्थ इन्स्योरेन्सको ६ करोड ६० लाख, युनाइटेड इन्स्योरेन्सको ६ करोड ११ लाख, नेशनल लाइफको ५ करोड ५८ लाख र सिद्धार्थ बैंकको ५ करोड ४३ लाख रुपैंयाँको कारोबार भएको छ ।

बजार ३५ अंकले बढ्दा पनि आइतबार ३ वटा कम्पनीको सेयरमुल्य मात्र १० प्रतिशतले बढेको छ । राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी प्रमोटर सेयर र कर्णाली बिकास बैंकको सेयर मुल्य १० प्रतिशतले बढेको हो ।

आज माउन्ट मकालुका लगानीकर्ताले सबैभन्दा बढि ६.२५ प्रतिशतले गुमाएका छन् । नबिल ब्यालेन्स फण्ड र बिजया लघुबित्तका लगानीकर्ताले पनि क्रमशः ५ र ४.४ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु