महासंघमा टर्यो सहमतिको संभावना, अब चुनाबी भिडन्त



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वमा सहमतिको संभावना लगभग टरेको छ । अन्तिम समयसम्म पनि नेतृत्वका प्रत्यासीहरु र गुटका नेताहरुले आ-आफ्ना अडान नछाडेपछि सहमतिको संभावना टरेको हो ।

यही चैत २३ गते महासंघका अध्यक्ष पशुपति मुरारकाले सहमति जुटाउने उद्देश्यले सबै पदाधिकारीका उम्मेद्वारलाई महासंघमा बोलाएर छलफल थालेका थिए । त्यसयता लगातारजसो सहमतिका लागि पटकपटक बैठक बसिएको छ । तर, सहमति हुन भने सकेको छैन ।

बरिष्ठ उपाध्यक्षका उम्मेद्वार शेखर गोल्छा र किशोर प्रधान दुबैले आफ्नो नाममा सहमति गर्नुपर्ने अडान राखेपछि सहमतिको प्रयास विफल भएको हो ।

‘मिलाउने भन्ने हल्ला छ । प्रयास त अझै भइरहेको पनि छ । तर म अब त्यो संभावना देख्दिन,’ किशोर प्रधान समूहलाई सहयोग गर्दै आएका महासंघका पूर्वअध्यक्ष सुरज बैद्यले क्लिकमाण्डूसँग भने ।

तर महासंघका अध्यक्ष पशुपति मुरारकाले अन्तिम समयसम्म पनि आफ्नो प्रयास सहमतिका लागि रहिरहने बताए ।

‘सहमतिका लागि धेरै पटक छलफल र बैठकहरु भए । अहिलेसम्म सहमति हुन सकेको छैन । यद्यपि मेरो प्रयास भोलि अबेरसम्म सहमतिकै लागि भइरहने छ,’ मुरारकाले भने ।

सोमबार महासंघको ५१औं साधारणसभाको उदघाटन हुँदैछ । सहमति नभए मंगलबार निर्वाचन हुनेछ ।

‘सबैले सहमति चाहेका छन् तर कसको नाममा सहमति गर्ने भन्नेचाहीँ नमिलेको हो,’ उनले भने– ‘उम्मेद्वारहरुले चुनाबमा जाने सम्पूर्ण तयारी गरिसकेकाले अब सहमति हुने संभावना त कम नै छ । यद्यपि भोलिसम्ममा सहमति हुन पनि सक्छ ।’

मुरारकाले गोल्छा प्यानललाई सहयोग गर्दै आएका छन् ।

बरिष्ठ उपाध्यका प्रत्यासी किशोर प्रधानले अध्यक्ष मुरारकाले अन्तिम समयमा आएर सहमतिका लागि प्रयास गरेकाले सहमतिको वातावरण नबनेको प्रतिक्रिया दिए ।

‘सहमति आवश्यकता पनि हो, म अन्तिम समयसम्म सहमतिको पक्षमा छु,’ प्रधानले भने,- ‘तर जुन हिसाबले सहमति गर्न खोजिएको छ, त्यसले सहमतिको वातावरण बनाएको भन्दा बिगारेको हो कि जस्तो अनुभूति भइरहेको छ ।’


पुष्प दुलाल