नेपाल भित्रिने प्रत्यक्ष बैदेशिक लगानी चार गुणाले बढ्यो




काठमाडौं । नेपाल भित्रिने प्रत्यक्ष बैदेशिक लगानी ४ गुणाले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजानिक गरेको देशको वर्तमान आर्थिक स्थिति नामक प्रतिवेदनमा यस्तो देखिएको हो ।

आर्थिक वर्ष २०७३/७४ को फागुन महिनासम्ममा मुलुकमा ८ अर्ब ३५ करोड रुपैयाँ प्रत्यक्ष बैदेशिक लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

जबकी आर्थिक वर्ष ०७२/७३ को फागुन महिनामा जम्मा २ अर्ब ३४ करोड रुपैयाँले मात्रै वैदेशिक लगानी भित्रिएको थियो ।

जलविद्युत, होटल लगायतमा लगानी आएपछि प्रत्यक्ष बैदेशिक लगानी गुणात्मकरुपमा बढेको नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए ।

‘जलविद्युतमा चाइनिज लगायतका लगानीकर्ता आए भने होटलमा पनि विदेशी लगानी भित्रिएको छ,’ थापाले भने,– ‘जसले एफडीआइमा व्यापक सुधार ल्याएको हो ।’

अबको युग बैदेशिक लगानीको युग

अबको चर्चाको विषय एफडीआइ युग भएको थापाले बताए ।

‘अपर कर्णाली र अरुण तेस्रोमा लगानी आउन थालेपछि नेपालमा रेमिट्यान्सको होइन, एफडीआइको चर्चा हुन्छ,’ उनले भने,- ‘त्यसैले अवको युग भनेको एफडीआइको युग हो ।’

केही समय अघि सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा करिब २० खर्ब रुपैयाँ बराबरको बैदेशिक लगानीको इच्छापत्र आएको थियो । त्यो इच्छापत्रलाई लगानीमा ढाल्न सके मुलकमा सँधै एफडीआइको मात्रै चर्चा हुने उनको भनाई थियो ।

‘एफडीइआ बिना देशको विकास हुन सक्दैन,’ थापाले भने,- ‘त्यसैले हामी सबैको ध्यान कसरी देशमा एफडीआइ भित्र्याउने भन्नेमा केन्द्रित हुनुपर्छ ।’


पुष्प दुलाल