नेप्सेमा सेयर खरिदकर्ता र बिक्रीकर्ता बराबर,परिसूचक ५.९८ अंकले घट्यो



काठमाडौं । बिहिबार नेप्से परिसूचक ५.९८ अंकले घटेर १६५१.०४ अंक पुगेको छ । दिनभरी २५ अंक हाराहारीको उतारचढाव भएपनि अन्तमा नेप्से सामान्य रुपमा मात्र घट्यो । बिगत तीन हप्तामा झण्डै ३ सय ५० अंकले बढेको नेप्से बिगत २ दिन देखि भने स्थिर देखिएको छ ।

गत हप्ताको बिहिबार र यस हप्ताको आइतबार सर्किट लाग्दा बजारमा खरिदकर्ताहरु निकै हावी भएका थिए । कतिपय कम्पनीमा त बिक्रीकर्ता नै थिएनन् । बिहिबारको मार्केट डेप्थ हेर्दा भने खरिदकर्ता र बिक्रीकर्तामा धेरै सन्तुलन देखिएको छ । बाणिज्य बैंक र जलबिद्युतमा खरिदकर्ता भन्दा बिक्रिकर्ता धेरै देखिएका छन् । छोटो समयमा नै तिब्र गतिमा बढेका कारण नाफा बुक गर्नु नै पहिलो प्राथमिकता भएको लगानीकर्ताले ठानेका हुनसक्छन् ।

बीमा कम्पनीहरुका सन्दर्भमा भने खरिदकर्ता नै बिक्रीकर्ता भन्दा धेरै देखिएका छन् । बीमा कम्पनीका सेयर सिमित रुपमा मात्र बजारमा भएका कारण पनि यस्तो भएको हुनसक्छ । पूँजी बृद्धिको प्रभाव पनि छँदैंछ ।
बिहिबार १४३ कम्पनीको २३ लाख ३७ हजार ४ सय १३ कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम १ अर्ब ४१ करोड रुपैयाँको छ । मंगलबार कारोबार रकम १ अर्ब ६० करोड हाराहारी थियो ।

आज बीमा बाहेक सबै उप—उपसुचकहरु घटेका छन् । बैंकिङ ५.६६, होटेल ५१.७२, बिकास बैंक १५.३८, जलबिद्युत २०.६४, बित्त १.४५ अंकले घटेका छन् । बीमा भने १५.९२ अंकले बढेको छ । उत्पादन र ‘अन्य’ समुहमा भने कुनै कारोबार भएन ।

बिहिबार सबैभन्दा बढी एनसीसीको १२ करोड ९३ लाख रुपैंयाँको कारोबार भएको छ । दोस्रोमा सूर्य लाइफ इन्स्योरेन्सको ८ करोड ११ लाख, तेस्रोमा नेपाल बैंकको ७ करोड ८० लाख, चौंथोमा सनराइजको ६ करोड २० लाख र पाँचौंमा गुँरास लाइफ इन्स्योरेन्सको ६ करोड ८ लाख रुपैंयाँको कारोबार भएको छ ।

बिहिबार ४ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । नेपाल इन्स्योरेन्स, सूर्यलाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर र ग्रीन डेभलप्मेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतले कमाएका हुन् ।
बिहिबार सबैभन्दा बढि १० प्रतिशतले नेपाल ग्रमीण बिकास बैंकका लगानीकर्ताले गुमाएका छन् । यसैगरी, रिडी हाइड्रोका लगानीकर्ताले ९.२९ र जेबिल्स फाइनान्सका लगानीकर्ताले ७.५४ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु