मेट लाइफ, ओरियन्टल र नेसनल इन्स्योरेन्सले अब के गर्छन् ?




काठमाडौं । नेपालमा संचालित मेट लाइफ, ओरियन्टल र नेसनल इन्स्योरेन्स कम्पनीले अब के गर्छन् भन्ने प्रश्न पैदा भएको छ ।

बीमा समितिले जारी गरेको बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ मा बिदेशी बीमा कम्पनीका शाखाहरुलाई नेपाली २ बिकल्प मात्रै दिएपछि यस्तो प्रश्न उत्पन्न भएको हो ।

नयाँ ब्यवस्था अनुसार जीबन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब र निर्जीबन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्छ । बिदेशी बीमा कम्पनीको शाखाले पनि यही ब्यवस्था अनुसारको चुक्ता पुँजी कायम गर्नुपर्ने समितिका अध्यक्ष चिरन्जीबी चापागाँईले जानकारी दिए ।

‘बिदेशी बीमा कम्पनीहरुले पनि नेपाली बीमा कम्पनी सरह चुक्ता पुँजी कायम गर्नुपर्छ, यस्तो गर्न नसक्ने कम्पनीले नेपाली संयुक्त लगानीको कम्पनी बन्ने बाटो तय गर्नुपर्छ,’ अध्यक्ष चापागाँईले क्लिकमाण्डूसँग भने ।

नयाँ ब्यवस्था अनुसार मेट लाइफले २ अर्ब रुपैयाँ तथा नेसनल र ओरियन्टलले १/१ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्नेछ । यी कम्पनीले आफ्ना बिदेशी मुल कम्पनीबाट रकम ल्याएर चुक्ता पुँजी कायम गर्नुपर्ने हुन्छ ।

यस्तो रकम नपुगेमा समितिको नयाँ ब्यवस्था अनुसार नेपाली साझेदार खोज्ने वा जुन देशबाट आएको हो, त्यही देश फर्कने बाटो रोज्नुपर्ने हुन्छ ।

यस्तो छ नयाँ ब्यवस्था

विदेशी बीमककोे पूँजीसम्बन्धी व्यवस्थाः
(१) बीमकको रुपमा दर्ता हुन चाहने विदेशी बीमकले दफा ४ बमोजिम तोकिएको न्युनतम चुक्ता पूँजी बराबरको निर्धारित पूँजी कायम गर्नु पर्नेछ ।

(२) यो निर्देशिका प्रारम्भ हुँदाका बखत विदेशी बीमकको रुपमा दर्ता भई बीमा व्यवसाय सञ्चालन गरिरहेका विदेशी बीमकहरुले २०७५ साल असार मसान्तभित्र दफा ४ बमोजिम तोकिएको न्युनतम चुक्ता पूँजी बराबरको निर्धारित पूँजी कायम गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम निर्धारित पूँजी कायम नभए सम्म विदेशीे बीमकले कुनै प्रकारको लाभांश घोषणा गर्न र वितरण गर्न पाउने छैन ।


क्लिकमान्डु