आजदेखि भूकम्प प्रभावित १७ जिल्लामा अनुदान बितरण सुरु



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भोलीदेखी भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागी अनुदान बापतको पहिलो किस्ता बितरण शुरु गर्ने भएको छ ।

सर्वेक्षण गरी लाभग्राही सूचीमा समावेश भएकाहरुलाई प्राधिकरणले घर बनाउन दिने तीन लाख अनुदान मध्ये पहिलो किस्ता वापतको ५० हजार रुपैया बितरण गर्न लागेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले भोली सोमवार कास्कीको लुम्लेबाट अनुदान बितरण शुरु गर्दैछन् । कास्कीका ३४ गाविस तथा नगरपालिकामा सर्वेक्षण सकेर तथ्याङ्क प्राप्त भएका २ हजार २ सय ३८ घरधुरी मध्ये लुम्लेमा १ सय ६२ घरधुरी लाभग्राही सूचिमा समावेश छन् ।

भूकम्म प्रभावित अर्घाखाँची, बाग्लुङ, भोजपुर, धनकुटा, गुल्मी, कास्की, खोटाङ्ग, लमजुङ, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, संखुवासभा, स्याङजा, चितवन, सोलुखुम्बु र तनहुँमा गरि अहिलेसम्म ५ सय ८६ गाविस तथा नगरपालिकाबाट लाभग्राहीको सूचि प्राप्त भइसकेको छ । बाँकी १ सय ७७ गाविस तथा नगरपालिकाको तथ्याङ्क एकीकृत गर्ने कार्य भइरहेको सुचना व्यवस्थापन तथा संचार शाखाका प्रमुख उपसचिव मनोहर घिमिरेले बताए ।

सोलुखुम्बुका तीन गाविसमा भने हिमपातका कारण तथ्याङ्क सकंनलन हुन सकेको छैन । ती गाविसमा केन्द्रबाट टोली खटाएर तथ्याङ्क संकलन गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

प्राधिकरणले यसअघि पहिलो चरणमा तथ्याङ्ग संकलन भइसकेका १५ हजार ७ सय ४३ लाभग्राहीलाई पहिलो किस्ताको ५० हजार रुपैया बितरण गर्न स्वीकृति दिइसकेको छ । अब बस्ने कार्यकारी समिति बैठकले बा“की लाभग्राहीको सूचिलाई अनुमोदन गर्नेछ ।

प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लाका अनुदान सम्झौता भएका ९८ प्रतिशत लाभग्राहीलाई अनुदानको पहिलो किस्ता दिइसकेको छ भने प्रक्रिया पुरा गरेका लाभग्राहीले दोस्रो र तेस्रो किस्ता समेत लिइरहेका छन् ।


पुष्प दुलाल