पूर्वडेपुटी गभर्नर काफ्लेको समूहले २ करोडमा किन्यो सिद्धार्थ कलेज



काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर गोपाल प्रसाद काफ्लेसहितको एक समूहले कलेजमा लगानी गरेको छ । काफ्लेको समूहले राजधानीको बाफलस्थित सिद्धार्थ मल्टिपल कलेज किनेको हो ।

‘हामीले सिद्धार्थ कलेज किनेको २ महिना भयो, केही दिनभित्रै कलेजको कानूनी स्वामित्व हाम्रो समूहमा नामसारी हुँदैछ,’ काफ्लेले क्लिकमाण्डूसँग भने ।

२ करोड रुपैयाँमा कलेज किनिएको उनले सुनाए । कलेजमा कमर्श, साइन्स, आयुर्वेदसम्बन्धी पढाई हुने काफ्लेले बताए ।

भूकम्पका कारण समस्यामा परेको कलेज माथि उठ्न सकेको थिएन । नयाँ समूहले लिएसँकै विद्यार्थी संख्या बढाउने योजना बनाएको छ ।

‘अहिले ५ सय विद्यार्थी छन्, अब कम्तीम २/२ सय विद्यार्थी थप्ने सोच बनाएका छौं,’ उनले भने ।
कलेजको प्रिन्सिपलमा एमपी मैनाली छन् । कानूनीरुपमा स्वामित्व हस्तान्तरण भइसकेपछि काफ्ले कलेजको अध्यक्ष हुनेछन् ।

‘बैंक तथा वित्तीय संस्थामा जागिर खान पाइँदैन, फेरि बिहानदेखि बेलुकासम्म काम गर्ने मन पनि छैन,’ काफ्लेले भने,– ‘कलेजको लगानी सामाजिक र बौद्धिक क्षेत्र भएकाले आकर्षित भएको हुँ ।’

राष्ट्र बैंकको डेपुटी गभर्नरबाट ०७२ पुस १० गते अवकास पाएका काफ्ले गभर्नरका लागि सिफारिसमा पनि परेका थिए । थर, सरकारले उनलाई गभर्नरमा नियुक्ति गरेन ।

त्यसपछि उनी राजधानीको गैरीधाराम प्रविष्टि नामक कन्सलटेन्सी खोलेर बसेका थिए । कन्सलटेन्सीमा राष्ट्र बैंककै अवकासप्राप्त कर्मचारी पर्वत कार्की, रविन्द्र खनाल र व्यवसायीक समूह प्रभु समूहकी सञ्चालक कुशुम लामा काफ्लेका पार्टनर थिए ।


पुष्प दुलाल