बुध्द एयरले भद्रपुर, बिराटनगर, नेपालगञ्ज र धनगढीमा उडान थप्यो



काठमाडौं । बुध्द एयरले मोफसलका मुख्य शहरमा उडान थप गरेको छ । बुध्दले हालैमात्र थपेको नयाँ जहाज एटीआर-०७२ जहाजबाट झापाको भद्रपुर, मोरङको बिराटनगर, बाँकेको नेपालगञ्ज र कैलालीको धनगढीमा उडान थपेको हो ।

ती स्थानहरुका बुध्दले फागुन ३० गते अर्थात् मार्च १४ तारिकदेखि उडान भर्ने जनाएको छ । यात्रुको सुविधालाई मध्यनजर गरी उठान थपिएको बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।

खराब मौसम, बढ्दो एयर ट्राफिक, साँघुरिदो एयरपोर्टलगायतका कारण कहिलेकाहीँ उडान विलम्व हुने समस्याका कारण उडान ढिलो हुने गरेको एयरले स्वीकार गरेको छ ।

तर, यस्तो समस्याका बाबजुत पनि आफ्नो एयरलाइन्स समयमै उडान गर्न र विलम्वलाई न्यूनिकरण गर्न प्रतिबद्ध रहेको जारी विज्ञप्तीमा उल्लेख छ ।

टीआर-०७२ जहाजका विषेशता

एटीआर-०७२ जहाज वातावरणमैत्रीका हुनुका साथै परम्परागत विमानका तुलनामा कम इन्धन खपत गर्ने बताइएको छ । जोशीका अनुसार फराकिला सीट, खुट्टाका लागि पनि पर्याप्त ठाउँ छ । न्यून ध्वनी प्रदुषणयुक्त एटीआरमा यात्रा गर्दा यात्रुहरुले थप आरामको अनुभूति गर्नेछन् ।

थपिएको नयाँ जहाजससँगै बुध्द एयरसँग एटीआर-७२ को संख्या चार पुगेको छ । यी बाहेक तीनवटा एटीआर-४२ र दुईवटा बीच एयरक्राफ्ट १९००-डी जहाज रहेका छन् ।

सन् १९९७ मा स्थापित बुध्द एयरले नेपाली उडान उद्योगमा ६१ प्रतिशत बजार हिस्सा ओगटेको छ । चालु आर्थिक वर्षको ८ महिनामा बुध्द एयरले ६ लाखभन्दा बढि स्वदेशी र विदेशी यात्रुहरुलाई सेवा दिइसकेको छ ।


पुष्प दुलाल