चितवनमा स्वास्थ्य बीमा कार्यक्रम लागू



चितवन । चितवन जिल्लामा यो वर्षबाट स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यसपालिदेखि लागू भएको बीमा कार्यक्रमअन्तर्गत अहिले दर्ता सहयोगी छनोटको काम चलिरहेको छ । प्याकेजमा सेवा दिने गरी बीमा कार्यक्रम आएको कार्यालयका प्रमुख विजयकुमार झाले जानकारी दिए ।

मुख्यगरी न्यूनतम पाँचजनाको परिवारले २ हजार ५ सय रुपैयाँ तिरेपछि बीमा कार्यक्रममा सहभागी हुन पाउने छन् ।

पाँचजनाभन्दा माथि प्रतिव्यक्ति ४ सय २५ थपेर बीमा कार्यक्रममा सरिक हुन सक्नेछन् । तर, पाँचजनाभन्दा कम भएका परिवारले पनि २ हजार ५ सय नै तिर्नुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए ।

उनीहरुले वर्षभरि चितवनको तोकिएको अस्पतालबाट स्वास्थ्य सेवा लिन सकिने झाले जानकारी दिए ।

चितवनको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, क्यान्सर अस्पताल, रत्ननगर अस्पताललगायत सरकारी स्वास्थ्य संस्थाबाट बिमाको सुविधा लिन सकिने छ ।

‘एक वर्षलाई प्याकेजमा सेवा पाइने छ, सिटी स्क्यान, एमआरआईलगायत ठूला प्रकृतिका उपचार बिमामा समावेश छैन, डाइग्नोसिसका कार्यक्रमहरु यसमा छन् ।’ उनले भने ।
जटिल प्रकारका रोगको उपचार बिमाभित्र नपरे पनि साधारण उपचार र रोग पत्ता लगाउनेखालका परीक्षणहरु बिमामार्फत हुने जनाइएको छ । चितवनमा दर्ता सहयोगीको छनोट हुनेबित्तिकै चैत १ गतेबाट नामावली दर्ता सुरु हुने र जेठ १ गतेबाट बिमा गर्न थालिने जनाइएको छ ।

कार्यालय प्रमुख झाका अनुसार चितवनलगायत देशका २२ जिल्लामा यो वर्ष बिमा कार्यक्रम लागु भएको छ ।

अघिल्लो वर्ष इलाम, कैलाली र बाग्लुङमा बिमा कार्यक्रम नमुनाका रुपमा लागू भएको थियो । सो क्षेत्रमा ५० हजारले बिमा गरेको झाले जानकारी दिए । रासस


क्लिकमान्डु