प्रतिबन्धित भारु नोट: प्रतिनेपाली ४,५०० सम्म साट्ने भारतीय प्रस्ताव



 

काठमाडौं । भारतले प्रतिबन्ध लगाएका ५,०० र १,००० दरका भारतीय नोट सटहीबारे छलफल गर्न भारतीय टोली नेपाल आएको छ । रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) की कार्यकारी निर्देशक डा. दिपाली पन्त जोशीको नेतृत्वमा भारतीय टोली शनिबार नेपाल आएको हो ।

आइतबार बिहानैदेखि भारतीय टोली र राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, वैदेशिक विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानालगायतको टोलीबीच छलफल भइरहेको छ ।

अब नेपालमा भएका प्रतिबन्धित भारु नोट साटिने पक्कापक्की भएको छ । तर कति साटिन्छन् भन्ने चाहीँ छलफलपछि मात्रै टुंगो लाग्छ ।

डा. पन्त नेतृत्वको भारतीय टोलीले नेपालमा रहेका ५०० र १००० दरका भारु नोट प्रतिव्यक्ति ४५ सयसम्म साट्ने प्रस्ताव गरेका छन् । जुन प्रस्ताव राष्ट्र बैंकको टोलीले मानेको छैन् । राष्ट्र बैंकले पटकपटक भारतसँग प्रतिव्यक्ति २५ हजार भारुसम्म साटिदिन आग्रह गर्दै आएको छ ।

‘भारतीय टोलीले प्रतिव्यक्ति ४५ सय भारुसम्म साट्ने प्रस्ताव गरेको छ,’ राष्ट्र बैंक उच्च स्रोतले क्लिकमाण्डूसँग भन्यो,‘तर, हामीले २५ हजारसम्म नै साटिदिनुपर्छ भनेर अडान राखिरहेका छौं ।’

डा. पन्तकै नेतृत्वमा गत फागुन १७ गते भारु सटहीबारे स्थलगत छलफल गर्न पहिलोपटक भारतीय आधिकारिक टोली नेपाल आएको थियो । टोली २ दिनसम्म छलफल र अध्ययन गरेर फर्किएको थियो ।
पन्तको टोलीले झन्डै दुई हप्ताअघि आरबीआइलाई प्रतिबेदन बुझाएको थियो । आरबीआइले भारतीय वित्त मन्त्रालयमा नेपालमा रहेका भारु सटहीबारे स्थलगत अध्ययन प्रतिबेदन बुझाइसकेको छ ।

प्रतिबेदनमा नेपालमा रहेका प्रतिबन्धित भारतीय नोट साट्नुपर्ने उल्लेख छ । त्यसैले भारतले फेरि छलफल गर्न टोली पठाएको हो ।

‘पन्तजीको टोलीले नेपालमा रहेका भारु नोट साट्नुपर्ने प्रतिवेदन बुझाएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘अब नेपालमा भएका प्रतिबन्धित भारु नोट साटिने पक्कापक्की भएको छ । तर कति साटिन्छन् भन्ने चाहीँ छलफलपछि मात्रै टुंगो लाग्छ ।’

यसअघि भारतले नेपालमा रहेका प्रतिबन्धित नोट साट्न सकारात्मक रहेको जनाउँदै आएको थियो तर यो पटक भने ४५०० मात्र साट्ने प्रस्ताव गरेको हो ।

गत कात्तिक तेस्रो साता देशबासीका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० दरका पुराना भारु नोट नचल्ने घोषणा गरेका थिए ।

भारतमा बढ्दै गएको कालोधन नियन्त्रण गर्न भन्दै नोटमा लगाइएको प्रतिवन्धले भारु चल्ने देशहरुमा समेत समस्या परेको थियो ।

नेपालका बैंक तथा वित्तीय संस्था, होटल एवं मनि चेञ्जर कम्पनीहरुमा ५०० र १०० दरका ३ करोड ७४ लाख रुपैयाँ भारु नोट छन् । सर्वसाधारणसँग भएको भारुको कुनैपनि विवरण छैन ।

खासगरी नेपालको पश्चिम पहाड र अधिकांस तराईका जिल्लाहरुमा भारु व्यापकरुपमा चलनचल्तीमा रहेकाले सो दरका भारु नोट अर्बौं हुनसक्ने अनुमान गरिएको छ ।


पुष्प दुलाल