यी २५ विमानस्थल, जहाँ गाई-भैंसी चर्छन्, विमान उड्दैनन्




काठमाडौं । मुलुकभर ५६ विमानस्थल रहेकामा ३१ वटा विमानस्थल संचालनमा छन् । हाल २५ वटा विमानस्थलले विजनेश नै पाएका छैनन् अर्थात् ती बिमानस्थलबाट जहाज उँड्दैनन् ।

संचालनमा रहेका धेरै विमानस्थलमा पनि सातामा एक/दुई उवटा मात्रै डान हुने गरेका छन् । अधिकांसमा निजी क्षेत्रका एयरलाइन्सहरु उडान भर्न मान्दैनन् । तर पनि अहिले एकदर्जन भन्दा बढी विमानस्थल निर्माणधिन अवस्थामा छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ९ वटा विमानस्थल मात्रै नाफामा रहेका छन् । बाँकी सबै विमानस्थल घाटामै संचालनमा भइरहेका छन् । जसको करोडौं आर्थिक भार प्राधिकरणले व्योहर्दै आएको छ ।

नयाँ-नयाँ विमानस्थल निर्माण गर्ने तर संचालन नहुने र खुल्ला चौरमा परिणत हुदै गएको छ । यसबाट राज्यको स्रोत दोहन मात्र भएको छैन, खुलेआम भ्रष्टाचार समेत मौलाउँदै गएको छ ।

तर पनि नयाँ-नयाँ विमानस्थल निर्माण गर्न नयाँ मन्त्री आएपछि सँधै प्राथमिकतामा पर्ने गरेको छ । कतै आवश्कयता पर्ने स्थानमा वर्षौंसम्म पनि विमानस्थल निर्माण र संचालन नहुने तर आवश्यकता नै नपर्ने स्थानमा भने धमाधम विमानस्थल निर्माण गर्ने संस्कृतिको विकास हुँदै गएको छ ।

कालिकोट जस्तो विकट स्थानमा विमानस्थल निर्माण सुरु भएको ३१ वर्षपछि बल्ल गत महिना मात्र परिक्षण उडान गरिएको छ ।

‘अहिले नाफामा रहेका विमानस्थल जम्मा ९ वटा हुन, अन्य सवै घाटामै संचालन भएका छन,’ नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठ भन्छन् ।

दुई वर्षअघि मनाङमा रहेको विमानस्थल कालोपत्रे गरियो । तर हालसम्म पनि नियमित उडान हुन सकेको छैन । नयाँ-नयाँ विमानस्थल निर्माण गर्ने तर संचालन नहुने र खुल्ला चौरमा परिणत हुदै गएको छ । यसबाट राज्यको स्रोत दोहन मात्र भएको छैन, खुलेआम भ्रष्टाचार समेत मौलाउँदै गएको छ । पर्यटन मन्त्रालयमा नयाँ मन्त्री फेरिन्छन् त्यसपछि आफ्नो क्षेत्रमा विमानस्थल निर्माण गर्नको लागि बजेट छुट्याउने परम्परा जस्तै बनेको छ ।

‘आवश्यकताको सिद्धान्तअनुसार विमानस्थल निर्माण हुनु पर्ने हो तर हुन सकेको छैन, यसमा परिवर्तन गर्न आवश्यक छ,’ श्रेष्ठले भने ।

सोलुखुम्बुमा सबैभन्दा बढी चारवटा र खोटाङमा तीनवटा विमानस्थल छन् । सोलुखुम्बुमा तेन्जिङ हिलारी विमानस्थल मात्रै नाफामा संचालनमा रहेको छ । भने यता नेपालगन्ज, धनगढी, विराटनगर, सिमरा, भरतपुर, पोखरा,भद्रपुर र भैरहवा विमास्थल मात्रै नाफामा छन् ।

धमाधम विमानस्थल निर्माण हुदैं

नागरिक उड्डयान प्राधिकरणले ओखलढुङ्गाको खिजी चण्डेश्वरी, गुल्मीको सिमिचौर र इलामको सुकिलुम्बा विमानस्थल निकट भविष्यमा नै निर्माण गर्ने तयारी गरिरहेको छ ।

गत वर्ष ताप्लेजुङ, रामेछाप, रुकुम चौरजहारी र रारा(मुगु) विमानस्थलमा धावनमार्ग कालोपत्रे भएका छन् । हाल कालोपत्रे भएको विमानस्थलको संख्या २६ पुगेको छ ।

चालु आर्थिक वर्षमा भोजपुर, डोल्पा (जुफाल) र मनमाया राई खानीडाँडा विमानस्थलको कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस्तै, उदयपुरको सगरमाथा विमानस्थल, धरान विमानस्थल, प्यूठानको स्वर्गद्वारी विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकनको कार्य जारी रहेको छ ।

त्यसैगरी, अर्घाखाँचीको अर्घाभगवती विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकनको काम सम्पन्न गरी विस्तृत परियोजना प्रतिवेदन तयारीको क्रममा रहेको छ । विराटनगर, नेपालगञ्ज, जुम्ला विमानस्थलको धावन मार्ग, ट्याक्सी वे, एप्रोन ओभरले कार्य र राजविराज, लामिडाँडा, थामखर्क, डोटी (दिपायल), साँफेबगर, डोल्पा तथा बैतडीको पाटन विमानस्थल कालोपत्रे, थालनी गर्ने कार्यक्रम रहेको छ ।

अधिकांस विमानस्थल वर्षातमा बन्द

मुलुकभित्र संचालनमा रहेका आन्तरिक विमानस्थलमध्ये वर्षातको समयमा पहाडी भेगका अधिकांश विमानस्थल बन्द हुन्छन् ।

प्राधिकरणका अनुसार ताप्लेजुङ, लामिडाँडा, कांगेलडाँडा, थामखर्क, दाङ, मनाङ, मेघौलीलगायतका विमानस्थल बर्सेनी वर्षातको समयमा बन्द हुन्छन् । भने अन्य केही विमानस्थलमा अवरोध हुने गरेको छ ।

वर्षातको समयमा पहिरो, बाढीका कारण सडकमार्ग अवरुद्ध हुने र गन्तव्यमा पुग्ने यात्रुलाई समस्या पर्ने हुँदा हवाई यातायात छिटो र छरितो मानिन्छ । मौसम प्रतिकुलताका कारण पहाडी भेगका अधिकांश विमानस्थल बन्द हुने गरेको छ ।


पुष्प दुलाल