बन्दले लगानी असुरक्षित भएको उद्योगीको भनार्इ



मोरङ । बन्द, हडताल, मजदुर समस्या, बजार अभाव, जस्ता समस्या झेल्दै आएका उद्योगी राजनीतिक अस्थिरता लम्बिँदा मोरङ –सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी प्रताडित भएका छन् ।

संविधान जारी भएपछि राजनीतिक अस्थिरता समाप्त भई लगानीको वातावरण बन्ने आशामा बसेका उद्योगी बन्द हडताल पुनः सुरु भएकोमा प्रताडित भएका हुन् ।

सप्तरी घटनापछि सुरु भएको तराई–मधेस बन्दले संविधान कार्यान्वयनमा देखिएको समस्याले उद्योगी नयाँ लगानी गर्न हिचकिचाइरहेका छन । सांसद एवम् मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार सारडाले भने, ‘राजनीतिक अस्थीरता र बन्द हडतालले लगानी सुरक्षित छैन ।’

उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय पनि लगानी गर्ने बातावरण नभएको बताउँछन् । उनका अनुसार एक दिनको बन्दले मोरङ–सुनसरी औद्योगिक क्षेत्रले मात्रै २५ करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष नोक्सानी बेहोनुपर्छ ।

यो क्षेत्रको अप्रत्यक्ष नोक्सानी अवस्थामा नयाँ लगानी थपिने कल्पना गर्न नसकिने उनले उल्लेख गरे । गत वर्षको भूकम्प, छ महिना लामो तराई–मधेस बन्द, नाकाबन्दीको पीडा कम हुँदै गएको अवस्थामा सुरु भएको बन्दले उद्योगी निरास भएको उनले बताए ।

राजनीतिक अस्थिरताले निजी क्षेत्र झन्झन् सङ्कटमा पर्दै गएको पूर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य सङ्घका महासचिव रवीन दाहालको भनाइ छ । शिक्षा क्षेत्रमा लगानी गरेका दाहाल देश हाँक्ने जनशक्ति उत्पादन गर्ने शैक्षिक क्षेत्रसमेत बन्द हडतालले थिलथिलो भएको बताउँछन् ।

डेढ दशकभन्दा लामो समयदेखिको राजनीतिक अस्थिरताले उद्योगी व्यवसायीले अर्बौं गुमाएको सङ्गठनका वरिष्ठ उपाध्यक्ष भीम घिमिरेको भनाइ छ ।


क्लिकमान्डु