ओइरिँदै बैदेशिक लगानी, फेरि थपियो ४० अर्ब



काठमाडौं । नेपालमा बैदेशिक लगानीको प्रतिवद्धता ओइरिन थालेको छ । लगानी सम्मेलन सम्मेलन सम्पन्न भएको चार दिन नवित्दै लगानीकर्ताहरुले फेरि ४० अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

लगानी सम्मेलनपछि पनि लगानीकर्ताहरुले अर्बौंको लगानी प्रतिवद्धता जनाइरहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

‘पछिल्ला चार दिनमा ४० अर्ब बढीको लगानीको प्रतिवद्धता आइसकेको छ,’ सीइओ अधिकारीले क्लिकमाण्डूसँग भने,- ‘अझैपनि लगानीकर्ताहरुले फोन र इमेलमार्फत लगानी गर्ने प्रतिवद्धता जनाइरहेका छन् ।’

चार दिनअघि काठमाडौंमा सम्पन्न भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विभिन्न ७ देशका १६ लगानीकर्ताले १३ खर्ब ६० अर्ब रुपैयाँको लगानी गर्ने प्रंतिवद्धता जनाएका थिए ।

सम्मेलनमा चिनियाँ लगानीकर्ताहरुले सबैभन्दा धेरै अर्थात साढे ८ खर्ब रुपैयाँ बराबरको लगानी गर्ने प्रतिवद्धता जनाएका थिए भने भारतका लगानीकर्ताले जम्मा ३१ अर्ब रुपैयाँ लगानीको प्रतिवद्धता जनाएका थिए ।

‘अहिले फेरि भारत र चीनका लगानीकर्ताहरुले नै लगानीका लागि चासो देखाइरहेका छन्,’ अधिकारीले भने ।

४ वटा लगानीकर्ताले लिखित र ३ वटाले फोन गरेर लगानीको प्रतिवद्धता जनाएको उनले बताए ।

‘सोमबार मात्रै फिनल्याण्डका लगानीकर्ताले नेपालको फर्मासिटिकल्समा लगानी गर्ने भन्दै प्रतिवद्धता जनाएका छन्,’ अधिकारीले भने ।

विदेशी लगानीकर्ताहरुले खासगरी नेपालमा विद्यमान अन्तरदेशीय लगानीसम्बन्धी नीति, राजनीतिक प्रतिवद्धता, सरकार र नीतिगत स्थायित्वमा चासो दिने गरेको उनको भनाई छ ।

‘यहाँ छिटो छिटो सरकार फेरिने हुँददा राजनीतिक र नीतिगत स्थायित्व छैन कि भन्ने लगानीकर्ताहरुको चासो देखिन्छ,’ उनले भने,- ‘तर, सम्मेलनलाई सम्बोधन गर्दै सबै शीर्ष नेताहरुले लगानीका लागि सबै दलको एउटै धारणा भएको प्रतिवद्धता जनाएपछि लगानीकर्ताहरु उत्साहित भएका छन् ।’

लगानी सम्मेलनका संयोजकसमेत रहेका उद्योगमन्त्री नविन्द्रराज जोशीले सम्मेलनमार्फत १ खर्ब लगानी आउने बताउँदै आएका थिए । तर, सम्मेलन सकिँदा साढे १३ खर्बको प्रतिवद्धता आयो भने अहिले थपिएकोसहित गर्दा १४ खर्बको लगानी प्रतिवद्धता आएको हो ।

सम्बन्धित समाचार

१६ विदेशी लगानीकर्ताको १३ खर्ब ६० अर्ब लगानी गर्ने घोषणा (सूचिसहित) 

उद्योगमन्त्रीले मुस्कुराउँदै भने- एक वर्षभित्र यसरी भित्र्याउँछौं साढे १३ खर्ब लगानी 

लगानी भित्र्याउन सरकारले गठन गर्यो उच्चस्तरीय


पुष्प दुलाल