ठाडोकुलो फाँट सिँचाइ योजनाबाट सिन्धुली फाँट बाह्रै महिना सिञ्चित



सिन्धुली । ठाडोकुलो फाँट सिँचाइ योजना सम्पन्न भएपछि कमलामाई नगरपालिका–५ मा २९ हेक्टर खेतीयोग्य जमिन सिञ्चित भएको छ । नेपाल सरकार, स्विस सरकारको सहयोग र स्थानीयवासीको जनसहभागितामा कुलो निर्माण भएपछि खेतीयोग्य जमिन सिञ्चित भएको हो ।

ग्वाङखोलामा कुलोको मुहान बनाई एक हजार ६ सय ७९ मिटर लामो कुलो निर्माण सम्पन्न गरिएको ठाडोकुलो फाँट सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले जानकारी दिए । कुलो निर्माण गर्न स्थानीयवासीबाट सङ्कलित तीन लाख १७ हजार एक सय ४३ रुपैयाँ सामग्री र त्यसको ढुवानीमा खर्च गरिएको थियो । यस अतिरिक्त नेपाल सरकारबाट पाँच लाख ७९ हजार २९ र स्विस सरकारबाट आठ लाख ६८ हजार पाँच सय ४४ प्राप्त भएको थियो ।

कुल ४६ लाख २१ हजार दुई सय ३९ रुपैयाँको लागतमा कुलो निर्माण गरिएको हो ।

साना सिँचाइ परियोजनाबाट एक हजार ६ सय ७९ मिटर लामो सिँचाइ कुलो निर्माण भएपछि सिन्धुली फाँट नै बाह्रै महिना सिञ्चित हुने भएको छ । सिँचाई कुलो निर्माण भएपछि तरकारी खेतीका साथै अन्य अन्नबाली लगाउन सजिलो भएको स्थानीयवासी यमप्रसाद फुयाँलले बताए । उनले भने, ‘अहिले नेपाल सरकार र स्विस सरकारको सहयोगमा पक्की कुलो मर्मत गरेपछि हामीलाई बर्खायाममा दैनिक बाँध र कुलो बनाउनुपर्ने बाध्यता हट्ने भएको छ । खोलामा पानी भए पनि वर्षाको समयमा खेतमा पानी लगाउन समस्या थियो । अब बाह्रै महिना जमिनमा सिँचाइ गर्न सक्ने भएका छौं ।’

अब विगतमा कुलाको बाँध र कुलो बनाउन जङ्गल गएर दैनिक सोत्तर ल्याउनुपर्ने झन्झटबाट पनि स्थानीयवासी मुक्त भएका छन् । पहिला कुलो तथा बाँध बनाउँदा बनाउँदै ग्वाङ खोलाको शिरमा पानी पर्दा आएको बाढीले बगाइदिने र दैनिक बाँध र कुलो बनाउन जानुपर्ने हुन्थ्यो । अब भने समयको बचत भएको छ । उनकाअनुसार अब खहरे खोलामा कभर क्यान गरिएको छ र बाँधमा क्रस डेन निर्माण,पक्की कुलो निर्माण गरिएकाले सदैव खेतमा लगाएको बालीनालीमा सिँचाइ गर्न सहज भएको छ ।

यस्तै सिँचाइ गर्न नसक्दा त्यस क्षेत्रका किसानले हिउँदे बाली तथा मकैसमेत लगाउन पाएका थिएनन् । कुलोबाट पानी चुहावट हुँदा खेतमा पानी पुग्न बिहानभर लाग्ने गरेकामा अहिले कुलो निर्माण गरेपछि बाँधबाट खेतमा पानी १० मिनेटमै पुगेको कृषक बताउँछन् । सिँचाइ कुलो निर्माण भएपछि सबैभन्दा बढी महिलालाई सजिलो भएको छ । जिविसको कार्यालयअन्तर्गत साना सिँचाइ कार्यक्रमबाट कुलो निर्माण सम्पन्न भएपछि खुसी हुँदै स्थानीयवासी इन्दिरा फुयाँलले भनिन्, ‘पुरुषहरु विदेश जाने र हामी महिलाले घरको काम गर्नुपर्ने भएकाले पहिले बलियो सिँचाइ कुलो नहुँदा मुहानमा पानी भए पनि सिँचाइ गर्न सकिएको थिएन । सिँचाइ गर्न नसक्दा तरकारी, अन्नबाली तथा नगदेबाली उत्पादनमा कमी हुने गरेको थियो ।’ सिँचाइ कुलो निर्माणले अब अन्नबाली र तरकारी उत्पादनम अवश्य वृद्धि हुने उनको भनाइ छ ।

महिलाले घरायसी काम गर्नुपर्ने, वर्षायाममा खोलामा बाँध र कुलो बनाउन अनिवार्य जानुपर्ने बाध्यता हटेपछि महिला बढी हर्षित भएको स्थानीयवासी मनमाया थापाले बताइन् ।

सिँचाइ गर्न पाउने भएपछि किसानले तरकारी, फलफूल जस्ता बाली लगाउने योजनासमेत बनाइसकेको अर्का कृषक केशव दाहालले बताए।