फापर अन्न तथा पिठो उत्पादनका लागि लघु उद्यम सुरु



 

जुम्ला। यहाँको पटमारा गाविसका महिला उद्यमी यतिबेला फापर उत्पादनमा अकर्षित भएका छन् ।

यो बालीका लागि पटमारा–२ का महिलाले लघुउद्यम सुरु गरेका छन् । एउटै वडाका महिलाले प्रतिस्पर्धात्मक रुपले उत्पादन गर्ने उद्देश्यले  डाँफे, प्रगतिशील र महारुद्र नामका तीन समूह पनि गठन गरेका छन् । यिनै समूहमा रहेका महिलाको सक्रियतामा फापर अन्न तथा पिठो उत्पादनका लागि लघु उद्यम सुरु गरिएको डाँफे उद्यमी समूहका अध्यक्ष तारा बुढाले जानकारी दिए ।

‘कर्णाली क्षेत्रको रैथाने बालीको रुपमा रहेको फापरको महत्व नबुझी बेवास्ता गरिएका कारण लोपोन्मुख अवस्थामा पुगेकाले यसको संरक्षण र उत्पादन गर्न हामी लागिपरेका छौँ,’ उनले  भने ।

पटमाराका महिलाले फापर उत्पादन वृद्धि गरेर आयआर्जन बढाउने लक्ष्य लिएको प्रगतिशील उद्यमी समूहका अध्यक्ष जानदेवी बुढाले बताए।

महारुद्र उद्यमी समूहका अध्यक्ष देवीकन्या बुढाले फापरको पुरिया बनाउने लेवल लगाउने  र प्रशोधन गरेर बजार पुर्याउने काम गरेर  महिलाको आर्थिकस्तर उकास्ने उद्देश्यले उद्यमी समूह गठन गरिएको बताए । उनीहरुले ग्रामीण परिवेश नेपाल नामक संस्थाले दिएको पिठो उत्पादन र उद्यम विकासको आठदिने तालिमबाट फापरबाली उत्पादनमा आकर्षित भएको बताए  ।

संयुक्त राष्ट्र संघीय विकास कोषको सहयोग र ग्रामीण परिवेश नेपाल, जुम्ला शाखाले सञ्चालन गरेको लघु पुँजीगत अनुदान कार्यक्रमअन्तर्गत फापरबालीसहित पिठो उत्पादन समेत गर्न  महिलालाई उद्योगसम्बन्धी तालिम प्रदान गर्नुका साथै एक लाख १० हजार रुपैयाँको ग्र्यान्डिङ र तौललने उपकरण  सहयोगस्वरुप उपलब्ध गराइएको आयोजक संस्थाका कार्यकारी निर्देशक अमर रोकायाले जानकारी दिए ।

जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत चन्द्रबहादुर बुढाले फापर हिमाली क्षेत्रको बहुउपयोगी र अनिकालको अन्नबालीका रुपमा परिचित रहेको जनाए ।

‘फापरसँग रक्तस्राव, उच्च रक्तचाप, मधुमेह, दाँतको गिजाबाट रगत आउनेजस्ता रोगको उपचारमा उपयोगी हुनाका साथै प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट, फस्फोरस र फलामजस्ता तत्व पाइन्छ,’  अधिकृत बुढाले भने । यसको उत्पादन वृद्धि गर्न जरुरी रहेकाले  जुम्ला, मुगु, डोल्पा, हुम्ला, मनाङ र मुस्ताङलगायतका हिमाली जिल्लामा यसको खेती गरिँदै आएको उनले जानकारी दिए ।


क्लिकमान्डु