धनगढी पुगेर गभर्नरले भने- वित्तीय पहुँच बढाउन एक घर एक बैंक खाता



 

धनगढी। नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जनसङ्ख्यालाई वित्तीय पहुँचमा ल्याउन सरकारले एक घर एक खाता योजना अघि सारेको बताएका छन् ।

कैलालीको अत्तरियामा सुरु भएको ‘वित्तीय जागरण राष्ट्रिय अभियान’ मा गभर्नर डा. नेपालले यस्तो बताएका हुन् ।

उनले वित्तीय साक्षरता बढाउन आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न सबैलाई आग्रह गर्दै सुदूरपश्चिमका विभिन्न जिल्लाका ग्रामीण इलाकामा बैंक तथा वित्तीय संस्थाको उपस्थिति अझै बलियो नरहेको बताए ।

राष्ट्र बैंक धनगढी शाखाका निर्देशक विश्रुत थापाले सुदूरपश्चिममा दुई सय तीनवटा बैंक तथा वित्तीय संस्थाका शाखा रहेको र यी संस्थालाई वित्तीय साक्षरता बढाउने खालका कार्यक्रम सञ्चालन गर्न सुझाव पनि दिए ।

कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी पुस्तकको दोस्रो संस्करण सार्वजनिक गरिएको थियो ।

यसअघि यहाँ आयोजित जनचेताना र्यालीमा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर उद्यमशीलतामा लागेका व्यक्तिलाई उदाहरणका रुपमा प्रस्तुत गरी बैंक तथा वित्तीय संस्थाको महत्व र त्यसबाट लिन सकिने फाइदाबारे सर्वसाधरणलाई अवगत गराइएको थियो ।

यस्तै पैसा के हो ? यसको परिचालन कसरी गर्ने ? बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्दाका फाइदाबारे पनि सूचनामूलक स्टलमार्फत जानकारी पनि गराइएको थियो ।

राष्ट्र बैंकले प्रवद्र्धन गरेको यो जागरण अभियानलाई वाणिज्य बैंकको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घ, विकास बैंकको छाता सङ्गठन नेपाल डेभलपमेन्ट बैंकर्स एसोसियसन र लघुवित्त वित्तीय संस्थाको छाता सङ्गठन माइक्रो फाइनान्स बैंकर्स एसोसियसन अफ नेपालले पनि साथ दिएका थिए ।

नेपालमा अझै पनि ६० प्रतिशत नागरिक बैंकिङ पहुँचभन्दा बाहिर रहेको र अझै पनि करिब २० प्रतिशत नागरिक साहु महाजनसँग नै कारोबार गरिरहेको अवस्थामा वित्तीय साक्षरता बढाउन निकै महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


पुष्प दुलाल